सिनेटर क्रिस्टोफर कुन्स र जेफ मक्र्लीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरु बीच नेपालमा सन्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा कुरा भयो ।
प्रधानमन्त्रीले नेपालको विकास आयोजनाहरुमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिए ।
नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले हासिल गरेको आर्थिक बृद्धिदर त्यसको संकेत भएको बताए ।
नेपाल संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै प्रधानमन्त्रीले स्थानीय सरकारको गठनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तिब्रता पाउने विश्वास व्यक्त गरे ।
तोकिएकै समयमा स्थानीय तहको निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गरिने जानकारी दिँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावको अपेक्षा रहेको उल्लेख गरे ।
सिनेटरहरुले नेपालको आर्थिक बृद्धिदर उत्साहवद्र्धक रहेको बताउँदै विकास र समृद्धिको नेपालीको सोचमा सहयोग रहने बताए ।
नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमूनायोग्य रहेको उनीहरुले उल्लेख गरे ।
नेपालको आर्थिक विकासमा अमेरिका सधैं सकारात्मक र सहयोगी रहने बताउँदै सिनेटरहरुले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न होस् भन्ने सदीक्षा व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्