नेपाली काँग्रेसले आफ्नो आधिकारीक फेसबुक पेजबाट आइतवार विहान १० वजेबाट औपचारिक रुपमा प्रचारको काम सुरु गरेको हो ।
नेपाली काँग्रेसको हालै ‘भेरिफाइड’ भएको फेसबुक पेजबाट काँग्रेसले आफ्नो पहिलो प्रचार सामग्री सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेसको फेसबुक र ट्वीटर मार्फत सार्वजनिक गरेको यो सन्देश आम कार्यकर्ताको माझ पुर्याउने तयारी काँग्रेस प्रचार उपसमितिले गरेको छ ।
नेपाली काँग्रेसको प्रचार प्रसार उपसमितिले तयार गरेको नयाँ प्रचार सन्देश पार्टी सभापति शेर बहादुर देउवादेखि पार्टीका सबै नेता कार्यकर्ताले आफ्नो सामाजिक सञ्जालमा राख्ने गरि तयारी गरिएको उपसमितिका सहसंयोजक तथा काँग्रेस नेता गगन थापाले बताए ।
नेपाली काँग्रेसलाई सबैलाई जोड्ने पार्टीको रुपमा बनाइएको सन्देश र प्रचार सामग्रीमा सरल किसिमले डिजाइन गरिएको छ ।
नेपाली काँग्रेसको झण्डामा रहेको चारतारालाई सामग्रीको सबैभन्दा माथि राखेर बनाइएको सामग्रीमा लेखिएको छ, ‘‘हामीभित्र म, सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’ ।
प्रचार उपसमितिले वैशाख १० गतेबाट आफ्ना सबै कार्यदल र मिडिया सेन्टरलाई पनि सक्रियताका साथ प्रचारमा परिचालन गरेको छ । यसका लागि पार्टीको मिडिया सेन्टर पनि १० गतेबाटै पूर्ण रुपमा परिचालन भएको छ ।
१० गतेबाट पार्टीका नेताहरु तथा व्यवसायिक व्यक्तिहरु पनि पार्टीका धारणाहरु राख्नको लागि परिचालिन हुने भएका छन् ।
फेसबुक पेज भेरिफाइड

नेपाली काँग्रेसको नाममा विभिन्न व्यक्तिले फेसबुक पेज र समुह चलाइरहँदा काँग्रेसको आधिकारीक धारणा पाउने कुरामा भइरहेको अन्यौल हटाउन काँग्रेसले आफ्नो फेसबुक पेजलाई भेरिफाइड गराएको छ ।
नेपालमा केहि राजनीतिक व्यक्ति र केहि सेलिब्रेटीहरुको मात्र फेसबुक पेज भेरिफाइड भएकोमा पार्टीको हैसियतमा काँग्रेसको पेज नेपालमै पहिलोपटक भेरिफाइड भएको हो ।
हाल काँग्रेसको पेज करिव २५ हजारले मात्र लाइक गरेका छन् । स्थानिय तहको चुनावी अभियानकै क्रममा ५ लाखसम्म लाइक पुर्याउने लक्ष्य उपसमितिले राखेको सहसंयोजक थापाले बताए ।
यसलाई आगामी दिनमा पार्टी सहभागि हुने चुनाव तथा जनतासँग प्रत्यक्ष रुपमा जोड्ने पार्टीका गतिविधीहरुलाई शेयर गर्ने साधनको रुपमा प्रयोग गर्ने उनले बताए ।
काँग्रेसलाई जनताको बीचमा अन्तरक्रिया गर्न पनि यसले सहज हुने प्रचार उपसमितिको विश्वास छ ।





प्रतिक्रिया दिनुहोस्