-सरोज अधिकारी/ ईमेज
स्थानीय आवश्यकतालाई सम्बोधन गरेर स्थानीय तहमै नारा बनाइरहेका दलहरुले मूख्य नारा भने केन्द्रबाटै तय गरेका छन् ।
स्थानीय सत्ता प्रयोग गर्न हुने निर्वाचनमा कसरी मतदातालाई आकर्षित गर्न सकिन्छ भन्नेमा अहिले दल तथा उम्मेदवारहरुको ध्यान केन्द्रीत भएको छ ।
देशैभर संगठन रहेका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपालगायतका दलहरुले मुख्य चुनावी नारा तय गरिसकेका छन् । यद्यपि उनीहरुले घोषणापत्र मार्फत यसको सार्वजनिक गर्न भने बाँकी छ ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले स्थानिय तहको निर्वाचनका लागि ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा सम्बृद्धिको अभियान’ भन्ने मुख्य नारा तय गरेको छ ।
त्यसको साथै कांग्रेसले ‘मतदान गर्दा द्वेष होइन, मित्रता रोजौं, समाजको विभाजन होइन, एकता रोजौं । अतिवाद होइन सम्बृद्धी र मध्य मार्ग रोजौं, शान्ति, लोकतन्त्र र नेपाली कांग्रेस रोजौं’ भन्ने सहायक नारा तय गरेको छ ।
प्रमुख विपक्षी एमालेले भने अहिलेसम्म पनि नारालाई अन्तिम रुप दिन सकेको छैन । एमाले घोषणापत्रको मस्यौदा निर्माणकै क्रममा छ ।
एमालेले पनि स्थानिय सरकरलाई बलियो बनाउने, शान्ति, स्थीरता, विकास र सम्बृद्धी लगायतकै विषयमा टेकेर मुख्य नारा तय गर्ने जनाएको छ ।
त्यस्तै सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ‘माओवादी केन्द्रको उपहार, गाउं र नगरमा सिंहदरबार’ भन्ने विषयलाई मुल नारा बनाएको छ ।
उसले गाउँ नगरका घर घर जाऔं, माओवादी केन्द्रलाई विजय बनाऔं ।’ भन्ने सहायक नारा तय गरेको छ ।
राप्रपाले पनि निर्वाचन प्रचारका लागि नारा तय गरेर प्रचार अभियान चलाईरहेको छ ।
राप्रपाले ‘राप्रपाको प्रतिबद्धता, सकारात्मक परिवर्तन, राष्ट्रियता, हिन्दुत्व, विकास र शुसासन’ भन्ने विषयलाई मुल र ‘गाईमा मतदान, नेपालीको सम्मान’ भन्ने सहायक नारा तय गरेको छ ।
प्रमुख तीनबाहेक अन्य दलहरुले पनि चुनावी नारा तय गरिरहेका छन् । निर्वाचनमा जान सहमत भइसकेको मधेसी मोर्चा चुनावी नारा तय गर्न आन्तरिक गृहकार्यमा लागेको छ ।
दलहरुले रोचक चुनावी नारा तय गरे पनि मतदातालाई आकर्षित गर्न भने कत्तिको सक्छन् त्यो चुनावी परिणामले नै देखाउने छ ।





प्रतिक्रिया दिनुहोस्