Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


१७ जिल्लामा कारागार भवन निर्माण हुँदै


0
Shares

कारागार व्यवस्थापन विभागले भवन निर्माण विभागसँग सहकार्य गरेर १७ जिल्लामा कारागारको भवन निर्माण गर्न लागेको हो ।

कैदीबन्दीको सङ्ख्या धेरै र भवनको सङ्ख्या थोरै हुँदा समस्या परेपछि भवन निर्माण विभागसँग सहकार्य गरेर भवन निर्माण गर्न लागेको हो ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले भूकम्पले क्षति पुगेका तथा पुराना भवन निर्माणका लागि भवन विभागले सहयोग गर्न लागेको बताए । उनले भने, ‘अहिले १० हजार कैदीबन्दी क्षमता भएको कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी छन् । यी भवन निर्माण भएपछि केही भए पनि सहज हुने विश्वास हामीले लिएका छौँ ।’

भवन निर्माण विभागको सहयोगमा सर्लाही, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नवलपरासी, पाल्पा, मनाङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, दैलेख, बझाङ र डडेलधुरा जिल्लामा कारागार भवन निर्माण हुँदैछ ।

यसैगरी भूकम्प पुनःनिर्माण प्राधिकरणको सहयोगमा सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, जगन्नाथदेवल, नख्खु, गोरखा, लमजुङ र धादिङको महिला कारागार भवन निर्माण हुन लागेको विभागले जनाएको छ ।

हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेको छ भने बारा र धनुषामा हालसम्म पनि कारागार छैन । (रासस)