Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


एमालेले अवरोध गरेपछि संसद्को बैठक स्थगित


0
Shares

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारी निर्णय र स्थानीय तहको संख्या थप गर्ने सरकारी तयारीपछि एमालेले असन्तुष्टि जनाउँदै संसद बैठक अबरुद्ध गरेपछि तीन बजेसम्मका लागि स्थगित गरिएको छ ।

आज बसेको संसद बैठकको सुरुमै उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकारले स्थानीय तहको संख्या बढाउने तयारी गर्नुको कारणबारे सदनलाई जानकारी दिएका थिए ।

तर एमालेले भने उपप्रधानमन्त्री थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठकमा अवरोध गरेको हो । एमाले सांसद भानुभक्त ढकालले उपप्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए ।

सांसद ढकालले बोलिसकेपछि एमालेका सांसदहरु उठेर बैठक अबरुद्ध पारेका थिए । त्यसपछि सभामुख ओनसरी घर्ती मगरले दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।

यसअघि स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारी निर्णयपछि उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्ने विषयमा प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

संसद् भवन बानेश्वरमै बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको थियो ।

बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको चुनाव र अबरुद्ध संसद् खुलाउने विषयमा छलफल भए पनि कुनै सहमति जुट्न सकेको थिएन ।

सरकारले स्थानीय तहको संख्या बढाउने तयारी गरेकोप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले हिजोको संसद् बैठक पनि अबरुद्ध पारेको थियो ।

यस्तै, दुई चरणको चुनाव घोषणा, पहिलो र दोस्रो चरणको निर्वाचनबीच एक महिनाको अन्तर, चुनावअघि बजेट ल्याउनेलगायतका विषयमा पनि एमालेले असहमति जनाउँदै आएको छ ।