Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जथाभावी बाटो काट्दै हुनुहुन्छ ? २०० जरिवानामा पर्नुहोला


0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवना गर्नेभएको छ ।

महाशाखाले शुक्रबार राजधानीमा आयोजना गरेको ‘बढ्दो सवारी–साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदलयात्री मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवं प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने–‘जेब्राक्रसिङमा चालक र यात्री दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।’

प्रनाम भण्डारीले सडकमा छाडा गाईवस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौंलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताए ।

उनले भने–‘महानगरपालिकाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिनुका साथै हाल रातिको समयमा सडक पखाल्ने काम गरिरहेको छ ।’

महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताए ।

उनले भने–‘जथाभावी बाटो हिँड्ने वा काट्ने तथा जेब्राक्रसिङबाट बाटो काट्दा सवारी नरोक्ने सवारीचालक दुबैलाई कारबाही गर्छौं ।’

उनले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ ओटा सामुदायिक केन्द्रमार्फत् आजैदेखि जनचेतना कार्यक्रम सन्चालन गरिएको बताए ।

त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय राईलगायतले नियम सन्चालनसँगै कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिए । रासस