Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


भारतीय तेलका कारण नेपाली उद्योग संकटमा, प्रतिबन्धित तेल छ्याप्छ्याप्ती(भिडियो)


0
Shares

-दीपक घिमिरे/ ईमेज

प्रतिबन्धित भारतीय तेलका कारण नेपाली तेल उद्योग समस्यामा परेका छन् । यति मात्र होइन सर्वसाधारण उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर पुगेको छ ।

खुल्ला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरूले भारतीय खाने तेल ल्याएर सीमावर्ती बजारमा बिक्री वितरण गर्दा नेपाली उद्योग समस्यामा परेका हुन् ।

करोडौंको लगानीमा स्थापित नेपाली उद्योग लगानीकर्ताले गुणस्तरहीन तथा प्रतिबन्धित तेलका कारण आफूहरूको तेल उत्पादन निकै घटेको बताएका छन् ।

स्थानीय निकायले बजार अनुगमनतर्फ ध्यान नदिनु तथा सीमामा चेकजाँचको जिम्मा पाएको सशस्त्र प्रहरी बलले चेकजाँचमा उचित ध्यान नदिँदा भारतीय तेल धमाधम नेपाली बजारमा बिक्री भइरहेको छ ।

नेपालका सीमावर्ती बजार भैरहवा, कपिलवस्तु लगायतका जिललाहरुमा अहिले भारतीय राइस ब्रान्डको गुणस्तरहीन खानेतेल चक्र, टेक्टर र बैलकोलु, तड्का ब्रान्डका तेलहरू खुलेयाम बिक्री वितरण भइरहेको देखिन्छ ।

सस्तो मुल्यमा पाइने भारतीय तेलका कारण ती क्षेत्रमा नेपाली तेलको बिक्री निकै घटेको गोविन्द आयल इन्डस्ट्रिज भैरहवाका सञ्चालक बृजेशकुमार अग्रवाल बताउँछन् ।

भारतबाट आउने तेल नेपाली तेलको तुलनामा सस्तो पनि हुने गरेको छ । चामलको भुसबाट निकालिने उक्त तेल छोटो समयमै बिग्रने, गुणस्तर पनि नहुने हुँदा भारतीय ब्रान्डका त्यस्ता तेल प्रयोग नर्गन क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीले आम उपभोक्तालाई आग्रह गरेको छ ।

कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्तबहादुर राईले भारतीय बजारबाट लुकीछिपी ल्याइने त्यस्ता तेलले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सरकारले प्रमाणित गरेको गुणस्तरीय नेपाली उत्पादन मात्रै प्रयोग गर्न आग्रह गरे ।

नेपालको तराई क्षेत्रका सीमावर्ती नाकाहरूबाट त्यस्ता तेल आउने गरेको छ । खासगरी रूपन्देही, कपिलवस्तु र नवलपरासीका सीमा नाकाबाट खुलेयाम ती तेल भित्र्याइने गरेको पाइन्छ ।

नेपाली उपभोक्ताले सशस्त्र प्रहरीको आँखा अगाडि बाटै खुलेयाम रूपमा तेल लगायतका प्रतिबन्धित सामान ल्याए पनि प्रहरी भने रमिते बनेका छन् ।

कपिलवस्तुको कृष्णनगर, खुनगाई नाकाबाट खुलेयाम रूपमा नेपालमा प्रतिबन्धित तेल भित्रने गर्दछ । स्थानीय प्रशासनले सीमावर्ती बजारमा अनुगमन गरेको खासै पाइँदैन ।

जसले गर्दा अखाद्य वस्तु बेच्ने व्यापारीको मनोबल उच्च हुँदै गएको छ । भारतबाट भित्रिने तेल बेच्नेलाई कडा कार्वाही गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह बताउँछन् ।

Skip This