Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मलेसियामा रहेका नेपाली कामदारबारे प्रधानमन्त्रीको चासो


0
Shares

आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायीहरुको टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पुरा गर्न रातदिन खटिरहेको छ ।’

यसै वर्ष नेपालमा लगानी सम्मेलन गरिएको उल्लेख गर्दै उनले भने, ‘पूर्वाधार विकाससम्बन्धि सम्मेलन पनि भयो । लगानीको राम्रो प्रतिवद्धता आएको छ । लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानूनहरु परिमार्जन गरेर हामी लगानी भित्र्याउन चाहन्छौं ।’

अहिले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरिएको चर्चा गर्दै उनले भने, ‘ नेपालको समृद्धि र विकासमा सकारात्मक लक्षणहरु देखा परिरहेका छन् ।’

भेटमा प्रधानमन्त्री दाहालले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारको मूख्य सरोकारको विषय भएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘हाम्रा दशौं लाख नागरिक मलेसियामा कामदारका रुपमा छन् । उनीहरुले विभिन्न कठिनाई भोगिरहेका छन् । फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार छ । नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’

मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बताए ।

भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले दाहाल नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गरे ।

भेटमा नेपाल–मलेसिया बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीहरुले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।