Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल


0
Shares

विमानस्थलको क्षमता कम हुँदा भीडभाड बढ्नाका साथै उडान संख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एअर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडानतालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताउँछन् ।

‘विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन, जसका कारण भीडभाड बढी हुने गरेको छ, यात्रीको चाप भएपछि सरसफाइमा पनि समस्या छ’–उनले भने ।

विमानस्थलमा पार्किङको समस्या पुरानै हो । यसले विमानस्थललाई थप अस्तव्यस्त बनाएको छ । पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एअर ट्राफिक जाम बढेको महाप्रबन्धक उपाध्यायले बताए ।

आन्तरिक उडानतर्फ कतिपय निजी वायुसेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिएपनि उनीहरुले केन्द्रमै राख्ने हुँदा थप चाप बढेको छ ।

विमानस्थलको क्षमता नहेरी एअरलाइन्सलाई उडान सन्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन् । विमानस्थलको टर्मिनल भवन साँघुरो हुँदा यात्रीलाई सास्ती हुने गरेको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरकाअनुसार तत्कालीन समयमा १२ देखि १५ जहाज ‘हेन्डलिङ’का लागि बनेको टर्मिनल भवनमा अहिले करिब सय अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । यात्रीकक्षमा पनि असाध्यै भीड छ । सयजना क्षमताको शौचालय दुई सय ५० जनाले प्रयोग गर्नुपर्ने बाध्यता छ ।

वि.सं. २००६ देखि नियमित उडान सुरु भएको विमानस्थलको वि.सं. २०१२ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए ।

पुरानो भौतिक संरचनाकै भरमा अहिले उड्डयन सेवा दिइएको छ । भौगोलिक कठिनाइ, प्रतिकूल मौसम आदिले पनि विमानस्थलको चाप बढेको छ । विमानस्थलको भौगोलिक अवस्थितिका कारण आधुनिक उपकरण जडानमा कठिनाइ छ ।

विमानस्थलको भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन आदिलाई ध्यान दिइनाको साटो पुरानो संरचनामा उडान थप्दै जाने प्रवृत्तिले विमानस्थलको छवि अन्तर्राष्ट्रिय जगत्मा कमजोर हुने विज्ञहरु बताउँछन् ।

उड्डयन सुरक्षाको चुनौतीलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले लामो समयदेखि त्रिविअलाई कालोसूचीमा राखेको छ, जसलाई हटाउन प्राविधिक तथा भौतिक सुधारका काम गरिनु अनिवार्य छ ।

साँघुरो विमानस्थलमा अहिले वायुसेवा यानको संख्या र यात्री आवागमन पनि बढिरहेकाले हालको भौतिक पूर्वाधार अपुग छ ।

हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने एकमात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटमात्र नेपालको करिब ९० प्रतिशत यात्रीको आवागमन हुने गर्छ ।

विमानस्थलको विवरणानुसार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिक (हेलिकोप्टरसहित)तर्फ २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् ।

२८ मुलुकसँग द्विपक्षीय उडान सम्झौता भएपनि हाल १५ देशका २६ गन्तव्यका अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ ।

आन्तरिकमा तीन सय १९ र अन्तर्राष्ट्रियमा सय दैनिक उडान भर्दै आएको त्रिअविलाई उडानभार क्रमिक बढेकाले उडान व्यवस्थापनमा चुनौती थपिएको महाप्रबन्धक उपाध्यायले बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले हालै १२ बुँदे निर्देशन दिएका थिए ।

मन्त्री गिरीले विमानस्थलको तत्कालीन सुधारका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा सन्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

विमानस्थल सुधार हुँदै
टर्मिनल भवन र आकाशमा होल्ड हुने अवस्थाले विमानस्थलको सेवा प्रभावित बनिरहेका सन्दर्भमा विमानस्थत क्षमता वृद्धि आयोजनाले विमानस्थल सुधारका कामलाई गति दिएको छ ।

प्रवक्ता ठाकुरकाअनुसार विमानस्थलको पूर्व क्षेत्रमा एक वर्षभित्र निर्माण सकिने गरी तीन र दक्षिणतर्फ दुई वर्षभित्र सकिने गरी अन्तर्राष्ट्रियस्तरका दुई पार्किङ क्षेत्र बन्दैछ, जहाँ ठूला जहाज पार्किङ गरिनेछ ।

टर्मिनल बढाइने नयाँ प्रक्रिया सुरु भएको छ भने पाँच सय ट्रली १० दिनभित्र आउँदैछन् । एक महिनाभित्र चार नयाँ ‘कन्भेयर बेल्ट’ राखिने पनि प्रवक्ता ठाकुरले जानकारी दिए ।

अध्यागमन कार्यालय, त्रिअविकाअनुसार सन् २००९ देखि २०१४ सम्मको तथ्यांकलाई विश्लेषण गर्दा प्रतिवर्ष करिब १० प्रतिशतको दरले यात्रीको आवागमनमा वृद्धि हुने गरेको छ ।

सो विमानस्थलको उपयोग गरेर दैनिक औसत आठ हजार मानिसको आवगमन भइरहेको छ ।

यो विमानस्थलले दैनिक करिब चार दर्जन अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गरिरहेको छ ।