३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


कांग्रेसको वडा अध्यक्षका अपहृत उम्मेदवार सकुशल रिहा


0
Shares

भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहेका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए ।

चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । ‘शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए,’ प्रजिअ पौडेलले भने, ‘संलग्न व्यक्तिको खोजी जारी छ ।’

नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाएका थिए ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडाध्यक्षको उम्मेदवार चयन गरेको थियो । उनी चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा परेका थिए । (रासस)