Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


७०० बढी आरोही हिमालमा


0
Shares

वसन्त ऋतु (स्प्रिङ)को यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह (टोली)का ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने तर्खरमा छन् । यीमध्ये ४० ओटा समूहका ३७३ जना सगरमाथा आरोहणका लागि गएका छन् ।

आरोहण अनुमति लिनेक्रम अझै जारी रहेकाले आरोहणको अवधिसम्म यो संख्या बढ्ने पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागको विवरणअनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा नेपालसहित ३० देशका ४०० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

११ दिनसम्म चलेको सगरमाथा आरोहणका लागि ३४ समूहको सहभागिता थियो ।

विभागका निर्देशक एवं प्रवक्ता दुर्गादत्त ढकालले यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता रहेकाले अघिल्लो मौसममाभन्दा आरोही बढ्ने बताए ।

उनकाअनुसार यो मौसममा सगरमाथा आरोहणका लागि गएका आरोही अहिले तेस्रो क्याम्पसम्म पुगिसकेका छन् । अबको दुईसातापछि उनीहरु मौसम अनुकूल पारेर सगरमाथाको चुचुरोमा पुग्नेछन् ।

त्यस्तै, अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको आरोहणका लागि पनि समूह–समूहमा आरोही गएका छन् । रासस