
काठमाडौं, फागुन ५ । बाफलको हर्टल्याण्ड एकेडेमीका विद्यार्थीहरुले विद्यालय परिसरमा एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेका छन् । सो स्कूलका विद्यार्थीहरुले हरेक वर्ष यस किसिमको ईनोभेटिभ कार्य गर्दै आएका छन् ।
विज्ञान प्रदर्शनीमा कक्षागतरुपमा विद्यार्थीहरुले समूह बनाएर विज्ञानका विभिन्न विषयहरुमाथि प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा १३ वटा स्टल थियो ।
प्रदर्शनीमा युकेजी लेभलका विद्यार्थीले तरकारी माथि प्रयोग गरेका थिए । तिनले तरकारी काटेर राख्दा किन कालो हुन्छ भन्ने कुरा आगन्तुकलाई जानकारी गराएका थिए । यसैगरी कक्षा १ का विद्यार्थीहरुले जीव र निर्जीव जीव जन्तुका विषयमाथि वैज्ञानिक प्रदर्शन गरेका थिए ।
कक्षा २ का विद्यार्थीहरुले ट्राफिक लाईट सम्बन्धी जानकारी दिएका थिए । तिनले ट्राफिक लाईटको महत्व र उपादेयताका बारेमा जानकारी दिए । यसैगरी कक्षा ३ का विद्यार्थीहरुले सोलिड अब्जेक्ट्सका विषय प्रस्तुत गरेका थिए ।
कक्षा ४ का विद्यार्थीहरुले मानव शरीरले कसरी काम गर्छ र कुन अंगको काम के हो भनेर देखाएका थिए भने कक्षा ५ का विद्यार्थीहरुले पानीमा बस्ने जीवजन्तुका विषयमा विस्तृत जानकारी दिए । कक्षा ६ का विद्यार्थीहरुले साउण्ड सिस्टमका बारेमा बताए भने ७ का विद्यार्थीहरुले मुटुले काम गर्ने तरिकाका विषयमा विभिन्न प्रयोग गरेर देखाएका थिए । तिनले मुटुले रक्त संचालन कसरी गर्छ भन्ने डायाग्राम बनाएर देखाएका थिए ।
कक्षा ८ का विद्यार्थीहरुले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स (एसटीईएम) सबैको कलेक्टिभ भर्सन प्रयोग गर्दै रोबोट जस्तो यन्त्र बनाएर प्रदर्शन गरेका थिए । यो प्रयोग र प्रदर्शन साइन्स प्रदर्शनीको प्रभावकारी प्रदर्शन थियो । यस किसिमको कार्य स्कूलमा पहिलो पटक गरिएको थियो ।
त्यस्तै ९/११/१२ कक्षाका विद्यार्थीहरुले स्ट्रिट लाईट र ग्रीन हाउस लाईटिङ सिस्टम, लाईटको आधारमा साउण्ड सिस्टमले काम गर्ने तरिकाको प्रदर्शन लाईफाई प्रदर्शन र दृष्टिविहीनहरुले प्रयोग गर्ने सेतो छडीमा सेन्सर जोडेर त्यो सेन्सरले पैदल हिँडदा तिनलाई सचेत गराउने प्रविधिहरुको प्रयोग र प्रदर्शन गरिएको थियो । दृष्टिविहीनहरुका लागि तयार गरिएको सेन्सर स्टीक अर्थाथ स्मार्ट छडीको प्रशंसा गरिएको थियो ।
विद्यालयको सो साईन्स प्रदर्शनीमा कला सम्बन्धी कार्य तथा पाक शास्त्र सम्बन्धी प्रदर्शन पनि गरिएको थियो ।
विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान पनि होस् भनेर यस किसिमको कार्य गरिएको स्कूलका प्रिन्सिपल करण सिंह गोयलाले बताए ।
सो प्रदर्शनीमा अभिभावक, स्कूलका सुभेक्षुक तथा वाफल वरपरका सामुदायिक र निजी विद्यालय गरेर करिब १५ वटा स्कूलका विद्यार्थीहरुको उपस्थिति रहेको प्रिन्सिपल गोयलाले बताए ।
प्रतिक्रिया दिनुहोस्