मन्त्रिपरिषदको बिहीबारको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको हो ।
देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ ।
त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट दुई करोडथान एलइडी बल्ब किन्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिएको थियो ।
मन्त्रिपरिषदमा तीन महिनापहिले पेस भएको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयकोसमेत स्वीकृतिमा पारित गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।
गत फागुन ३ गते बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतले नेपाललाई सस्तो मूल्यमै नै एलइडी बल्ब उपलब्ध गराउने सहमति जनाइएको थियो ।
प्राधिकरणले भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडबाट एलइडी बल्ब खरिद गर्ने योजना बनाएको छ ।
ग्राहकले विद्युत्को महसुल तिर्न आउँदा नै बल्ब उपलब्ध गराउने प्राधिकरणको योजना रहेको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
भारतीय रुपैयाँ ६५ प्रतिबल्ब पर्ने भएपनि विभिन्न कर तथा भन्सार शुल्क जोड्दा रु १२५ पर्नेछ । खुला बजारमा सो बल्बको मूल्य रु ३५० देखि रु ४०० सम्म पर्ने गरेको छ ।
एलइडी बल्ब खरिदका लागि रु दुई अर्ब खर्च हुने ऊर्जा मन्त्रालयको भनाइ छ ।
दुई करोडथान एलइडी बल्ब वितरण गर्न सकिए २०० मेगावाट विद्युत् बचत हुने र सरकारको रु ४० अर्ब बचत हुने जनाइएको छ ।
ती बल्ब सात र ९ वाटका छन् । प्राधिकरणकाअनुसार एलइडी बल्बले चार गुणासम्म बिजुली बचत गर्छ ।
१५ वाटको सीएफएलले दिने बराबरको प्रकाश पाँच वाटको एलइडीले दिने प्रवक्ता अधिकारीले बताए । रासस









प्रतिक्रिया दिनुहोस्