आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल र अमेरिका बीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताए ।
नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको भन्दै प्रधनमन्त्री २ वर्षअघि नेपालमा गएको भूकम्पको बेला अमेरिकाले उद्धार, राहत र पूनर्निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चासमेत गरे । उनले त्यसका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक धन्यवाद दिए ।
नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । भेटका अवसरमा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिँदै नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई सफलतामा पुर्याएको जानकारी दिए ।
भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका थिए । प्रतिनिधिमण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै फरक नपर्ने जानकारी दिँदै नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न आफूहरु तयार रहेको बताएका थिए ।
भेटमा अमेरिकी कंग्रेसका सदस्यहरु जिम सेन्सेन्ब्रेनर, इलिट एञ्जेल, जिम एमसी गभर्न, बिट्टी एमसी कोलुम, जुडी चु, जोयी बिट्टी, प्रमिला जयपाल लगायतका अमेरिकी कुटनीतिक नियोगका प्रतिनिधिहरु उपस्थित थिए ।










प्रतिक्रिया दिनुहोस्