३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मानसरोवरमा अलपत्र भारतीय तीर्थयात्रीको हेलिकोप्टरमार्फत् उद्धार, सातको मृत्यु


0
Shares

काठमाडौं, असार २० । सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकोप्टरमार्फत् प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिकूल मौसमले उडान अवरोधका कारण उद्धारमा कठिनाइ भएपनि मंगलबारदेखि सबै संयन्त्र परिचालन गरेर प्रभावकारीरुपमा तीर्थयात्रीको उद्धार भइरहेको जनाएको हो ।

यही असार १७ र १८ गते उडान हुन नसकेका कारण तीर्थयात्रीलाई सम्बन्धित गन्तव्यमा ल्याउन कठिन भएको थियो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायकाअनुसार ५५३ जना सिमिकोट र ३०० जना तीर्थयात्री हिल्सामा रहेका छन् । उनीहरुको बुधबार पनि मौसमले साथ दिएकाले धमाधम उद्धार भइरहेको र बिहीबारसम्म सबै यात्रीको उद्धार गरिनेछ ।

भारतीय तीर्थयात्रीको उद्धारमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा तारा, सिम्रिक र समिट एअरका हेलिकोप्टर खटिएको प्रवक्ता उपाध्यायले बताए ।

कैलाश मानसरोवरमा लेक लाग्ने समस्याका कारण तीनजना र बाटोमा फर्कनेक्रममा चार गरी जम्मा सातजनाको मृत्यु भएको पनि पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

प्रत्येक वर्ष कैलाश मानसरोवरमा लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु हुने गरेको छ । गत वर्ष २१ जनाको मृत्यु भएको थियो ।

प्रवक्ता उपाध्यायले अलपत्र परेका यात्रीको उद्धारका लागि मन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गरिएको बताए ।

उनले उडान नहुँदा अलपत्र परेका भनिएका तीर्थयात्रीलाई होटलमा बस्न, खान कुनै समस्या नरहेको पनि स्पस्ट पारे ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै १६० जना तीर्थयात्रीलाई हेलिकोप्टरमार्फत् नेपालगन्ज ल्याइएको जानकारी दिएका थिए ।

२५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ । मन्त्री अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उल्लेख गरेर लेखेको उक्त ट्वीटमा तीर्थयात्रीको मंगलबार र बुधबार होलिकोप्टरमार्फत् उद्धार हुने जानकारी दिएका थिए ।

बुधबार मन्त्रालयको समन्वयमा यात्रीको प्रभावकारी उद्धार भइरहेको छ । मौसमले पनि साथ दिएका कारण धेरै तीर्थयात्रीलाई बुधबार सुरक्षित गन्तव्यमा पुर्‍याइने बताइएको छ ।

अविरल वर्षाका कारण कैलाश मानसरोवरको यात्रामा गएका करिब एक हजार ६०० भारतीय तीर्थयात्री अलपत्र परेको जनाइएको छ ।

हुम्ला र हिल्साबाट तीर्थयात्री नेपालगन्ज ल्याउनेक्रम सुरु 

वर्षाका कारण हिमाली जिल्लामा उडान अवरुद्ध हुँदा हुम्लाको सिमिकोट विमानस्थल र नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका कैलाश मानसरोवरका भारतीय तीर्थयात्रीलाई नेपालगन्ज ल्याउनेक्रम सुरु भएको छ ।

मंगलबारबाट जहाजको उडान नियमित भएपछि हुम्लाको सिमिकोट र हिल्सा क्षेत्रबाट भारतीय तीर्थयात्रीलाई नेपालगन्ज ल्याउन थालिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण गौतमले बताए ।

‘हिजो तीनओटा उडान र आज बिहानैदेखि भइरहेको उडानबाट भारतीय तीर्थयात्रीलाई नेपालगन्ज ल्याउनेक्रम जारी छ’—सूचना अधिकारी गौतमले भने ।

नेपाल—तिब्बत सीमा क्षेत्रमा रहेकालाई हेलिकोप्टरबाट हुम्लासम्म र हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगन्ज ल्याउन थालिएको छ ।

हुम्लाबाट भारतीय तीर्थयात्रीलाई नेपालगन्ज ल्याउन समिट, सीता र तारा एअरलाइन्सका दैनिक १०/१२ उडान हुने र एक उडानमा १४ जनालाई ल्याउनसकिने सूचना अधिकरी गौतमले जानकारी गराए ।

मंगलबार सिमिकोटबाट करिब १५० भारतीय तीर्थयात्रीलाई नेपालगन्ज फर्काइएको र उनीहरुको बसोबासको उचित प्रबन्धसमेत मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

‘भारतीय तीर्थयात्रीलाई केही अप्ठ्यारो परेको छ भने स्थानीय प्रशासन, प्रहरी र आफ्नो ट्राभल एजेन्सीमा सम्पर्क राख्न पनि हामीले आग्रह गरेका छौं’—प्रजिअ केसीले भने ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका सूचना अधिकारी गौतमकाअनुसार हुम्लामा करिब ५०० को भारतीय तीर्थयात्री भएकामा मंगलबार १५० र बुधबार पनि त्यसकै हाराहारीमा ल्याइनेछ ।

नेपालगन्ज आइसकेका भारतीय तीर्थयात्रीलाई नेपालगन्जबाट काठमाडौं उडान भर्न भने कुनै समस्या नभएको प्रजिअ केसीले बताए । रासस