Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विद्यालयको बिजोग, विद्यार्थीको ज्यान धरापमा ! कक्षाकोठामै पानी थाप्न कराइ (भिडियोसहित)


0
Shares

भूकम्पपछिको पुनःनिर्माण, गुणस्तरीय र सर्वसुलभ शिक्षालाई नारा बनाएर घोषणापत्र लेखेका दलहरुलाई नुवाकोटको तामाङबस्तीको अमर प्राथमिक विद्यालयले भने गिज्याइरहेको भान हुन्छ ।

भूकम्पले भत्काएको यस अमर प्राथमिक विद्यालय भूकम्प गएको दुई वर्ष बित्दा पनि पुनःनिर्माण हुन नसकेको हो ।

काठमाडौंनजिकै भएर पनि विद्यालयको यस्तो हालत छ भने दुर्गम क्षेत्रका अरु विद्यालय कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

भूकम्पले भत्काएका शिक्षालयहरु चाँडै पुनःनिर्माण गर्ने सरकारी प्रतिबद्धतामात्र हैन, गुणस्तरीय र निःशुल्क शिक्षा आफ्नो घोषणापत्रमा लेख्ने दलहरुलाई पनि यस विद्यालयको दुर्दशाले गिज्याइरहेको छ ।

नुवाकोटका राजनीतिक दलहरु पनि भोट माग्न धेरैपटक यही विद्यालयको बाटो ओहोर–दोहोर गरे तर, अँह विद्यालयलाई हेरेनन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ चैजुनारायणथानको तामाङबस्ती दलहरुको लागि ‘भोट बैंक’कारुपमामात्र प्रयोग हुँदै आएको गुनासो स्थानीयको छ ।

सहरकेन्द्रित शिक्षालाई गाउँकेन्द्रित बनाउने शिक्षा मन्त्रालयको नाराले पनि यहाँका बालबालिकालाई समेट्न सकेको छैन ।

विद्यालयका प्रधानाध्यापक रामेश्वर थपलिया स्कुलको अवस्थाबारे मन्त्रालयमा बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरेको गुनासो गर्छन् ।

चर्को घाम लाग्दा बालबालिका आत्तिने, हुरी–बतास र झरीमा पढाइ हुँदैन । टन्टलापुर घाम लाग्दा पनि पसिनाले निथ्रुक्क हुँदा बालबालिकामा नकारात्मक असर परेको छ ।

आकाशेपानीबाट बच्न कक्षाकोठामै पानी थाप्न कराइको व्यवस्था गरिएको देख्दा नेपाली शिक्षाप्रति फूर्ती लगाउनेहरुलाई राम्रै झापड हानेझैं लाग्छ ।

अस्थीपञ्जरझैं बनेको पर्खाल र भित्ताबाट झर्ने ढुंगा बालबालिकाको खुट्टामा लाग्ने गरेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्