Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


जयरामघाट पुल : साउनदेखि खोटाङमा समृद्धिको बाटो खुल्ने


0
Shares

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल नौ वर्षपछि निर्माण कार्य सम्पन्न हुन लागेको हो ।

पुलको मुख्य लट्ठा राख्ने काम सकिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा ल्याइसकिएकाले असार मसान्तभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको आयोजना प्रमुख इन्जिनियर उद्धव रानामगरले बताए ।

‘जयरामघाटमा निर्माणाधीन पक्की पुल नेपालकै नमुना हो,’ उनले भने, ‘नमुना भएकै कारण सबै सामग्री र इन्जिनियर बाहिरबाट ल्याउनुपर्दा निर्माणमा ढिलाइ भयो ।’

निर्माणाधीन पक्की पुल जडानका लागि चीनबाट इन्जिनियर र सामग्री ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ । दुवैपट्टि बिजुली बत्ती राखिने पुलमा स्टिल ट्रस बिच्छ्याउन सुरु गरिएको निर्माणस्थलमा खटिएका इन्जिनियर सीताराम कार्कीले बताए ।

सो पुलमा झोलुङगे पुलको जस्तो लठ्ठाले पुलको भार थाम्नु र दुवैतर्फ बत्तीले झलमल्ल पार्नु नै यसको विशेषता रहेको छ ।

पुल निर्माण सम्पन्न भएपछि जिल्लाको समृद्धिको ढोका खुल्ने खोटाङ क्षेत्र नं १ बाट निर्वाचित सांसद् पाँचकर्ण राई (पिके)ले बताए । ‘जिल्लावासीको लामो प्रतीक्षापछि पुल निर्माण कार्य सम्पन्न हुनलागेको छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेका छौँ ।’

राजधानी काठमाडौँ तथा तराईका जिल्लाबाट खोटाङ भित्रने मुख्य प्रवेश मार्ग जयरामघाटको पुल बन्न नसक्दा जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु भित्र्याउन तथा आवतजावतमा समस्या हुने गरेको छ ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०६६ साल भदौमा सम्झौता गरेर हुलास कालिका कन्स्ट्रक्सन जेभीले पुल निर्माणको जिम्मा लिएको थियो । पुल निर्माणमा भइरहेको ढिलाइ र गुणस्तर कायमका लागि गत वैशाख २५ गते जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, प्रशासन, प्राविधिक, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी सङ्घ, पत्रकारलगायतको अनुगमन टोली निर्माणस्थल पुगेको थियो ।

जिल्लाको समृद्धिसँग जोडिएको जयराम पुल समयमा सम्पन्न गर्न र गुणस्तर कायम गर्न अनुगमन टोलीले सुझाव दिएको छ ।

करिब एघार वर्षअघि हेलिकोप्टरमार्फत गाडी ल्याएर यातायात सेवा सञ्चालन गरिएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेसँगै झिक्ने गरी सञ्चालन गर्ने गरिएको बेलिब्रिज जडान गर्दा वार्षिक रु ६० लाख राज्यकोषको रकम खर्च हुने गरेको छ । जयराम पुल निर्माण भएपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने दर्शनार्थीलाई समेत सहज हुने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

‘जयराम पुल खोटाङ्गेको जीवनसँग जोडिएको छ,’ उनले भने, ‘पुल बनेपछि जिल्लामा उत्पादन भएका कृषि उपज सहजरुपमा निर्यात गर्न सकिन्छ ।’

जिल्लामा ‘एक गाउँ एक उत्पादन’को अभियान सञ्चालन गरिरहेको वाणिज्य सङ्घले बाटो र पुलको समस्याका कारण बजार प्रवर्द्धन गर्न सकेको छैन ।

यसका लागि दूधकोसीमा निर्माणाधीन पक्की पुलको काम समयमा सम्पन्न गर्नु र सडकको स्तरोन्नतिको कामलाई द्रुत बनाउनुपर्ने अध्यक्ष लयालुको भनाइ छ । पक्की पुल निर्माणका लागि ठेकेदार कम्पनीले रु दश करोड ६ लाखको लागतमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो ।

निर्माणाधीन पक्की पुल निर्माणको काम तत्काल सक्न यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत निर्देशन दिइसकेका छन् । (रासस)