Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारी बैंकक प्रस्थान, त्यसपछि श्रीलंका जाने


0
Shares

पाँचदिने औपचारिक भ्रमणका लागि उनी बिहान त्यसतर्फ गएकी हुन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलंका जान लागेकी हुन् ।

बुद्धजयन्तीका अवसरमा श्रीलंकाले मनाउन लागेको संयुक्त राष्ट्रसंघीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । श्रीलंकाको राजधानी कोलोम्बोमा भइरहेको सम्मेलनको समापन वैशाख ३१ गते श्रीलंकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ ।

सन् २००० देखि राष्ट्रसंघले बुद्धजयन्तीलाई राष्ट्रसंघीय दिवसका रुपमा मनाउन थालेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलंका, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलंकाले तीन दिनसम्म यस सम्बन्धी विशेष सम्मेलन गर्ने गर्दछ ।

श्रीलंकाको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नुका साथै श्रीलंकास्थित विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

थाइल्यान्डमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँस्थित ग्रान्ड प्यालेसमा राखिएको स्वर्गीय थाइ राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यापर्ण गरी श्रद्धाञ्जलि व्यक्त गर्नेछिन् ।

गत वर्ष असोज २७ गते निधन भएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यही प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ ।

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उनको पार्थिव शरीरमा माल्यापर्ण गर्दै आएका छन् । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।