दुई दशकपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधानसभाले जारी गरेको संविधानबमोजिम व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको पनि काम गर्ने स्थानीय तहको पहिलोपटक हुन लागेको ऐतिहासिक निर्वाचनमा उनीहरु मतदान गर्न व्यग्र प्रतिक्षारत छन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर–४ लंकुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्दै छन् ।
उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुर महराको मतदाता नामावली रहेको प्रदेशमा पहिलो चरणमा निर्वाचन हुँदैन । यसैले उनीहरुले यो चरणमा मत हाल्दैनन् ।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पहिलो चरणमा मतदान गर्दैनन् ।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामावली पनि रौतहट जिल्लामा रहेकाले जेठ ३१ मा हुने निर्वाचनमामात्र मतदान गर्नेछन् ।
पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नम्बर–१० बानेश्वर हाइटस्थित सानोगौचरणपार्क मतदान केन्द्रमा मतदान गर्दैछन् ।
रेग्मीले आफैं मन्त्रिपरिषदको अध्यक्ष भएर गराएको वि.सं. २०७० मंसिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गरेका थिए ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दैछन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर–२ स्थित सत्यवती मावि र महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं महानगरपालिका वडा नम्बर–३ महाराजगन्जचोकस्थित भ्याली स्कुल केन्द्रमा मतदान गर्दैछन् ।
पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको वडा नम्बर–१६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्दैछन् ।
पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर–८ स्थित जौबारी मतदान केन्द्रबाट मत दिँदैछन् ।
एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर–७ धापासीस्थित स्काइलार्क स्कुल केन्द्रबाट मत हाल्दैछन् ।
सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नम्बर–२ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर–६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नम्बर–१९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालिका वडा नम्बर–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
वाणिज्यमन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नम्बर–३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नम्बर–९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नम्बर–१६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हाल्नेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर–२ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दैछन् ।
मुख्यसचिव डा. सोमलाल सुवेदीले काठमाडौं महानगरपालिका वडा नम्बर–१४ कलंकीस्थित ब्लुरेन इंग्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था वाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मत दिनेछन् ।
नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार राजुराज जोशीले महानगरपालिका वडा नम्बर–२६ को यट्खाटोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नम्बर–२८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गर्दैछन् ।





प्रतिक्रिया दिनुहोस्