
शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा परी करङमा चोट लागेका घिमिरेको उपचारकाक्रममा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान निधन भएको राष्ट्रिय धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जानकारी गराए ।
काठमाडौंबाट स्थानीय तहको निर्वाचनमा सपरिवार मतदान गर्न दोलखा जानेक्रममा भएको सो दुर्घटनमा उनका बुबा मुक्तिनाथ र आमा रत्नकुमारीको घटनास्थलमै निधन भएको थियो । उनका श्रीमती र बहिनी भने घाइते छन् ।
घाइते भएपछि उनलाई उपचारकाक्रममा काठमाडौं ल्याइएको थियो । दोलखाको गौरीशंकर गाउँपालिकाको लामीडाँडा घर भएका घिमिरे भक्तपुरको कौशलटारमा बस्दथे ।
त्रिविका उपप्राध्यापक घिमिरे ‘रेडियो कान्तिपुर एफएम’मा धार्मिक कार्यक्रमका सन्चालकसमेत रहेका थिए । उनी दोलखाको गौरीशंकर गाउँपालिकाका लामीडाँडा, बाब्रेगाउँलाई संस्कृतग्राम बनाउने अभियानमा रहेका थिए ।
‘शब्द सन्दोह’ कृतिका लेखक घिमिरे ‘पाणिनी व्याकरणको धातुपाठ’सम्बन्धी विषयमा विद्यावारिधि गर्दै थिए ।
नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता ४८ वर्षीय घिमिरेका दुई छोरा र एक छोरी छन् । उनको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ । रासस
प्रतिक्रिया दिनुहोस्