२ असार २०८२, सोमबार | Tue Jun 17 2025


म्याग्दीमा मतगणना सम्पन्न, चार स्थानमा कांग्रेस, दुई स्थानमा एमाले विजयी


0
Shares

-ध्रुवसागर शर्मा/ईमेज

म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ वटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको मेयरसहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

त्यस्तै मंगला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचिन भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिएका छन् ।

बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६७९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले ५ हजार ६३४ मत प्राप्त गरेका छ्न ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका क्या. डमवहादुर पुन गाउँ पालिका प्रमुखमा निर्वाचित भएका छन् । उनले ३ हजार ३२० मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले ३ हजार १ सय २७ मत प्राप्त गरे ।

त्यस्तै रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भव वहादुर भण्डारी निर्वाचिन भएका छन् ।

भण्डारीले ४ हजार ४३४ मत प्राप्त गरे भने नेकपा एमाले र नेकपा माओवादी(केन्द्र) को तर्फवाट अध्यक्षका उम्मेदवार खिमवहादुर शाहीले २ हजार ७३० मत प्राप्त गरेको रघुगंगा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइकेलले जानकारी दिएका छन् ।

त्यसै गरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमला तिलिजाले ३ हजार ८४७ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी एमाले-माओवादी केन्द्रका हरि भण्डारीले २ हजार ६६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै मालिका गाउँपालिकाको अध्यक्षमा पनी नेपाली कांग्रेसका श्रीप्रसाद रोका २ हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले २ हजार ६२२ मत प्राप्त गरेका छन् ।

उता पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन विजयी भएकी छन् ।

उनले २ हजार ४६० मत प्राप्त गरिन भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापाले २ हजार १६८ मत प्राप्त गरे ।

त्यस्तै मंगला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।