Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


‘प्रधानमन्त्री रोजगार कार्यक्रम’: विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिने


0
Shares

काठमाडौं । देशभित्रै विभिन्न अवसर सिर्जना गर्ने उद्देश्यसहित सरकारले आज ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा भइरहेको छ ।

रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयास स्वरुप सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याउन लागेको हो ।

सरकारले पाँच वर्षभित्रै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न लागेको जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणाका लागि सरकारले दिउँसो विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको औपचारिक घोषणा गर्नुहुने छ ।

सरकारले ‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ ।

सरकारको उद्देश्य बेरोजगार भत्ता दिनु नभएर रोजगारी दिनु भएकाले सकेसम्म सबैलाई रोजगारी दिने गरी अगाडि बढ्ने जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचीकृत गराउने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रहने सबै सूचना केन्द्रमा त्यस स्थानीय तहमा रहेका रोजगारदातालाई कस्ता कामदार आवश्यक छ भन्ने तथ्यांक हुन्छ ।

त्यही कस्तो कस्तो सिप भएका कामदार छन् भन्ने तथ्यांक पनि रहन्छ । रोजगारदाताले मागेअनुसारका कामदार खटाउने छ ।

तर त्यस्तो क्षमता भएका कामदार त्यो केन्द्रमा नभएमा अन्य केन्द्रबाट पनि मगाउन सक्नेछ । त्यहाँ रहेका कामदार अन्य ठाउँबाट माग भई आएमा पनि त्यहाँ खटाउन सक्नेछ ।

अहिले श्रम मन्त्रालयले केही रोजगारीको सूची तयार गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको भर्ना प्रक्रिया जारी छ ।

फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।