
मतगणनाको प्रारम्भमा देखिएको कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पष्ट भएको छ ।
अहिलेसम्म घोषित २ सय ७० स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय १५ स्थानमा जित हासिल गरेको छ ।
यसैगरी नेपाली कांग्रेसले १ सय २ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जित दर्ता गरेको छ ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जित हात पारेका छन् ।
त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । परिणाम अनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ४२ स्थान र गाउँपालिकाको ७३ स्थान जितेको छ ।
नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७४ स्थान जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।
अब मतपरिणाम आउन बाँकी रहेका १३ स्थान मध्ये दुईमा आइतबार मात्र मतदान भएको छ भने मतगणना जारी रहेका ११ स्थान मध्ये ६ मा एमाले र ५ मा काँग्रेसले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्