२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नयाँ जनप्रतिनिधिको काँधमा अस्तव्यस्त काठमाडौं (भिडियो रिपोर्ट)


0
Shares

दुई दशकको अन्तरालमा सम्पन्न स्थानीय तह निर्वाचनले जनप्रतिनिधि त चुनेको छ तर तिनको हातमा पर्नेछ, अस्तव्यस्त अनि लथालिंग काठमाडौं ।

मुलुककै राजधानी काठमाडौं महानगर सुविधा–सम्पन्न, सुन्दर हराभरा सहरकोरुपमा परिचित थियो, कुनै समय । तर, पछिल्लो समय जनसंख्याको चापले निम्त्याएका दूष्परिणामको असर पनि काठमाडौं भोगिरहेको छ ।

अझ विकासका नाममा गरिँदै आएका काम र अस्तव्यस्तताले काठमाडौंको स्वरुपमात्र नभइ संरचना नै दिनप्रतिदिन बिग्रिँदै गएको छ ।

धुलो–धुवाँ, खानेपानीको हाहाकार, अव्यवस्थित फोहोर, अस्तव्यस्त पार्किङ, खम्बामा जेलिएका तार, मनपरी ढंगले सडक खन्ने तर नबनाउनेजस्ता दृष्यले काठमाडौं महानगरको बयान गरिरहेका छन् ।

झन् त्यसमाथि थपिएको छ, दुई वर्षअगाडि भूकम्पले ध्वस्त बनाएका संरचना र पुनःनिर्माणमा भएको लापरबाही । जसले आमकाठमाडौंवासीको जीवनशैलीमा प्रत्यक्ष असर परिरहेकोमात्रै छैन, नेपालको भ्रमणमा आउने पर्यटकसमेतलाई नकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।

मानवजीवनसँग प्रत्यक्ष जोडिएका यस्ता विषयको व्यवस्थापन गर्दै तत्काल समाधान खोज्नुको विकल्प छैन । जसको अभिभारा भर्खरै चुनिएर आएका जनप्रतिनिधिको काँधमा आएको छ । आममानिस यी सबै कुराको जड राजनीतिलाई ठान्छन् ।

जबकी, आफ्नै आँखाअगाडि आफैंले गर्नसक्ने सुधारसमेत गर्न कोही तत्पर नहुने संस्कार पनि हामीले बसालिसकेका छौं । स्थानीय तहको चुनावले यस्ता समस्यालाई न्यूनीकरण गर्न सघाउने विश्वास राजधानीवासीमा छ ।

जनतासँग प्रत्यक्ष जोडिएर उनीहरुकै आवश्यकता र प्राथमिकतामा विकासलाई डोहोर्‍याउने भएकाले पनि पछिल्लो संघीय प्रणालीमार्फत् निर्मित स्थानीय सरकारप्रति आममानिसको भरोसा बढेको हो ।

त्यसैले यस्ता समस्यामा हात हालेर समाधान दिनुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ । एक रिपोर्ट (भिडियोमा हेर्नुहोस्) ।