काठमाडौं, माघ २८ । सामाजिक सुरक्षाअन्तर्गत् पेन्सनसहितको सामाजिक सुरक्षा कोष लागू गरेको सरकारले बेरोजगारलाई भत्तासहित प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउँदैछ ।
आगामी फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यस कार्यक्रमको शुभारम्भ गर्दैछन् ।
यसका लागि तथ्यांक भने चैत १ गते संकलन गरिने जनाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा आएको जनाएको हो ।
श्रममन्त्री गोकर्ण विष्टले मुलुकको समृद्धिका लागि गरिबीको रेखामुनि भएका नागरिकको जीवनस्तर उठाउन अपरिहार्य हुने र यसका लागि कार्यक्रम कोसेढुंगा सावित हुने दाबी गरे ।
संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रको सपना साकार पार्न कार्यक्रमले सघाउ पुर्याउने उनको दाबी छ ।
सरकारले रोजगारीलाई नै प्रमुख प्राथमिकतामा राख्दै रोजगारी दिनै नसकिएकाका लागिमात्र निर्वाह भत्ता प्रदान गर्न लागेको मन्त्री विष्टले प्रस्ट्याए ।
७५३ ओटै स्थानीय तहमा रोजगार प्रतिनिधि छनोट प्रक्रिया चलिरहेको मन्त्रालयले जनाएको छ ।
फागुनभित्र रोजगार प्रतिनिधि छनोट गर्ने एवं अन्य प्रक्रिया पूरा गरी चैत १ देखि बेरोजगारको तथ्यांक संकलन गरिने भएको छ ।
तथ्यांक संकलनपछि सरकारी आयोजना वा अन्यमा रोजगारीका लागि पहल गरिने र रोजगारी दिनै नसकिएमा बेरोजगार भत्ता दिने सरकारको तयारी छ ।
सरकारले बजेटमा यस कार्यक्रमका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्