२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


करिब ११ खर्ब रुपैयाँको हाराहारीमा नयाँ बजेट, उत्साहित छैनन् व्यापारी-सर्वसाधारण


0
Shares

योपटकको बजेटमा कुनैपनि नयाँ कार्यक्रम समावेश नगर्ने घोषणा सरकारले गरिसकेको छ । त्यही भएर पनि योपटकको बजेटप्रति व्यापारी तथा सर्वसाधारण त्यति उत्साहित देखिएका छैनन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट करिब ११ खर्ब रुपैयाँको हाराहारीमा ल्याउँदैछ ।

प्रत्येक वर्ष बजेटमा केही नयाँ कार्यक्रम समावेश हुने भएपनि यो वर्ष भने कुनै नयाँ कार्यक्रम समावेश नगरिने भएको छ ।

चालु आर्थिक वर्ष छुट्याइएको विकास बजेटसमेत अपेक्षाअनुसार खर्च हुन सकेको छैन । प्रायःजसो वर्षको विकास बजेट सरकारको ढुकुटीमै ‘फ्रिज’ हुने गरेको सर्वसाधारणको बुझाइ छ ।

विकास खर्च नहुँदा मुलुकमा तरलता अभाव भएको र बैंकको ब्याजदरसमेत उच्चविन्दूमा पुगेको छ । जसको सोझो मारमा आमनागरिकमा पर्ने गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटले बैंकको बढ्दो ब्याजदरमा गिरावट आउने सर्वसाधारणको अपेक्षा छ । मझौला उद्योगी–व्यवसायीहरुले पनि गरिबी लक्षित र व्यापारीका मुद्दा सम्बोधन गर्नेखालको बजेट ल्याउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी, फ्रिज नहुने गरी बजेट विनियोजन गर्न उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।

मझौला व्यापारीले भने आफूहरुलाई फाइदा पुग्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । बजेट भाषणमामात्र सीमित नगरी कार्यान्वयन गर्न सकिनेखालको हुनुपर्ने उनीहरुको भनाइ छ ।

कतिपय साना व्यवसायी भने बजेटबारे अनविज्ञ छन् । आफूहरुले तिरेको राजश्व कहाँ र कसरी खर्च हुन्छ भन्ने जानकारीसमेत नभएको उनीहरुको गुनासो छ ।

राजश्वबारे सरकारले पारदर्शी नीति अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

आगामी आर्थिक वर्षको बजेट आमनागरिकमाझ आशा र निराशाको घेरामा छ ।

त्यसैले सरकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउनेखालको बजेट ल्याउनुपर्छ, ताकि बजेटले सर्वसाधारणलाई केही हदसम्म भने पनि राहत दिन सकोस् ।