
सो सहरमा करिब एक हप्तादेखि आइएस आतंककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दाबढी सर्वासधारण त्यहाँबाट भाग्न नसकेर फसेर रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।
गत मगंलबार राष्ट्रपति रोड्गिो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा संकटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गरेतापनि आइएस आतंककारीले द्वन्द्व जारी नै राखेका हुनाले सरकारी सुरक्षाबलले गरेको कारबाहीको क्रममा नै भिडन्त भएको जनाइएको छ ।
प्रायः मुसलमान समुदायको बाहुल्यता रहेको करिब दुई लाख जनसंख्या भएको यस मरावी सहरमा आइएस आतंककारी सडक अवरुद्ध गरी सरकारी बलसँग गरेको भिडन्तको कारण महिला बालबालिकासहित करिब दुई हजार जना त्यहाँ फसेको र उनीहरुले आफ्नो सुरक्षित अवतरणको लागि सहयोगको आह्वान गरेका प्रान्तीय द्वन्द्व व्यवस्थापन कमिटीका प्रवक्ता जिया एलोन्टो एडिओंगले जानकारी दिएका छन् ।
आइतबार (हिजो)मात्र पनि सो सहरमा आतंककारी र सरकारी बलबीच भएको भिडन्तमा परी १९ सर्वसाधारणको मृत्यु भएको थियो । गत हप्तादेखि जारी यस भिन्डतमा १७ सुररक्षा अधिकारी, ६१ जना आतंककारी र १९ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।
दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका थिए ।
राष्ट्रपति रोड्गिो डुटेर्टे, केही मन्त्रिगण तथा उच्च पदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए ।
आफ्नो समूहलाई विश्वको कुख्यात आतंककारी संगठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहुल क्षेत्र मरावी नगरमा गत मंगलबार एक्कासि आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए ।
आतंककारी आक्रमण र सुरक्षाकर्मी एवम् अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्केका थिए । उनले स्वदेश फर्किरहेको विमानबाटै संकटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गरेका थिए ।
राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्रभरी सैनिक कानुन लागू गरिएको र स्थितिपूर्ण नियन्त्रणमा नआएमा वा आवश्यक परेमा संविधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक वर्षसम्म पनि सैनिक कानुन लागू गर्न सकिने जनाएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्