डम्बर बुढामगर
बागलुङ, माघ २७ । रेन्बो ट्राउट माछाको माग बढ्न थालेसँगै शहर बजारका व्यवसायी ग्रामीण क्षेत्रमा लगानी गर्न थालेका छन् । उच्च पहाडी भूभागको चिसो पानी ट्राउट माछाको अनुकूलन भएकाले बाग्लुङ बजारका पुराना व्यवसायीले विकट गाउँमा लगानी बढाउन थालेका हुन् ।
रेन्बो ट्राउट माछाको लागि नुवाकोट जिल्ला प्रसिद्ध भए पनि पछिल्लो समय यसको उत्पादन अन्य ठाउँमा पनि हुन थालेको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ४ बजारमा पनि रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ ।
बाग्लुङ बजारमा लामो समय व्यापार गरेका सुवास राजभण्डारीसहित चार जनाले ५० लाखको लगानीमा माछापालन सुरु गरेका हुन् । यो माछा स्वास्थ्यका लागि हितकर भएको र यसको माग बढेकाले आफूहरुले लगानी गरेको सुवास राजभण्डारीको भनाइ छ ।
उच्च पहाडी भूभागको सफा, चिसो तथा पर्याप्त अक्सिजन भएको पानीमा मात्र हुर्कने यो माछाका लागि कम ठाउँमात्रै उपयुक्त हुने उनको बुझाइ छ । यो माछाका लागि अनुकूल वातारण प्राविधिक अध्ययन गरी यस ठाउँमा माछापालन सुरु गरिएको अर्का लगानीकर्ता जीतबहादुर खत्री बताउँछन् ।
अहिले प्राविधिक रुपमा माछाका लागि उपयुक्त ९ वटा पोखरीमा माछा पालन गरिएको र केही समयपछि थप १० वटा पोखरी तयार गरिने लगानीकर्ताहरुको भनाइ छ । माछापालनसँगै रेष्टुरेन्टसमेत संचालन गर्ने उनीहरुको तयारी छ ।
अहिले करिब १२ हजार भुराहरु नुवाकोटबाट ल्याएर माछापालन गरिएको छ । टाढाबाट ल्याउँदा पाँच हजार भुराहरु मरिसकेका छन् । माछा उत्पादनमा आत्मनिर्भर बन्न नसकेको अवस्थामा यसले केही भए पनि आयातको मात्रा घट्ने विश्वास बढाएको छ ।









प्रतिक्रिया दिनुहोस्