
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकामा सबै सुरक्षा निकायको प्रशंसासमेत गरे । सबैखाले चुनौती सामना गर्दै नेपाल प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गर्न सफल भएको भन्दै उनले प्रहरी संगठनलाई समयानुकूल बनाइने बताए ।
प्रहरी सेवा जनमैत्री हुनु पर्ने भन्दै उनले राष्ट्र र जनताको सेवामा जुट्न प्रहरी निरीक्षक तालिम सम्पन्न गरेकाहरुलाई निर्देशन दिए ।
उपप्रधान एवं गृह मन्त्री बिमलेन्द्र निधिले नेपाल प्रहरीको ध्यान शान्ति सुरक्षा कायम गर्न केन्द्रित गर्न निर्देशन दिए ।
निर्वाचन सम्पन्न गरी मुलुकलाई अगाडि बढाउने दायित्व सरकारको भएको भन्दै उनले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण हुने बताए । नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएकाले नागरिकसँग मिलेर कर्तव्य निर्वाह गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक देवेन्द्र सुवेदीलगायतले नागरिकको सुरक्षा गर्न प्रहरी प्रतिबद्ध रहेको बताए ।
१९ महिने तालिममा १ सय ३२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । तालिममा उत्कृष्ट प्रहरी निरीक्षकलाई प्रधानमन्त्री दाहालले सम्मानित पनि गरे ।
प्रतिक्रिया दिनुहोस्