२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भरतपुरमै किन मतपत्र च्यातियो, जनताले थाहा पाइसके : ओली


0
Shares

                                                                                   फाइल फोटो
सूर्यविनायकमा नारायणविलास जोशी स्मृति प्रतिष्ठान सार्वजनिकीकरण एवं नवनिवाचित जनप्रतिनिधिलाई बधाइ ज्ञापन समारोहमा उनले भने–‘भरतपुरको मतगणनामा उम्मेदवारको कारणले गाह्रो पार्‍यो, एमालेले अन्त पनि जितेको छ, तर भरतपुरमै चाहिँ किन च्यातियो, अन्त किन च्यातिएन ? समस्याको जड जनताले थाहा पाइसकेका छन् ।’

भरतपुरमा मतगणना हुनैपर्ने अडान दोहोर्‍याउँदै नेता ओलीले भने–‘अपराध कर्मबाट चुनाव जित्ने होइन, जनताको मन जितेर चुनाव जित्ने प्रयास गर्नोस्, अपराध कर्मबाट जिताए मान्दैनौं, भरतपुरमा मतगणना हुनैपर्छ ।’ उनले मतगणना सुरु नगरिएसम्म संसद अवरुद्ध पार्ने चेतावनी दिए ।

संसद प्रधानमन्त्री चुन्नेमात्रै नभइ सबै समस्याको समाधान खोज्ने थलो पनि भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भने–‘भरतपुर घटना संसदको विषय होइन भनिने सुनिँदैछ, त्यसो भए के संसदको काम प्रधानमन्त्री छान्ने मात्रै हो ? चुनावमा धाँधली भएको विषय संसदको विषय होइन ? त्यसो भए अब हुने जुनसुकै निर्वाचनमा पनि जसले हार्न लाग्यो, त्यसैगरी मतपत्र च्यातिदिए भैगयो नि !’

भरतपुरमा फेरि मतदान भए गलत नजिर बस्ने र आगामी निर्वाचनमा हार्ने पक्षले पटक–पटक मतपत्र च्यात्ने र निर्वाचन गराइरहनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

उनले एमालेका तर्फबाट नवनिर्वाचित जनताका पक्षमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

‘हाम्राअगाडि अहिले चारैतिरबाट वाणहरु खनिएका छन्, तपाइँहरुले नराम्रो नगरे पनि विरोधीहरुले कसरी कमजोर पार्ने भनेर दाउ खोजिरहेका हुन्छन्’–ओलीले जनप्रतिनिधिलाई निर्देशन दिँदै भने–‘जुनसुकै काम गर्दा पनि मैले गरेको काम ठिक छ कि छैन, यो समयमा यो काम गर्न हुने हो कि नहुने हो, भन्ने सोचेरमात्रै काम गर्नोस् ।’

माला लाउँदैमा आफूलाई ठूलो मान्छे भए भनेर नसोच्न आग्रह गर्दै उनले भने–‘तपाइँलाई माला लाइदिएर ठूलो मान्छे बनाएको होइन, तपाइँहरु भोट दिने प्रत्येक नागरिकको प्रतिनिधि हो, ती प्रतिनिधिको काम गर्नोस्, जनतालाई कसरी साथ लिएर जान सकिन्छ, कसरी उनीहरुको मन जितेर जान सकिन्छ भनेर अगाडि बढ्नोस् ।’

त्यस अवसरमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा स्मृति प्रतिष्ठानको सार्वजनिकीकरण गरिएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, चाँगुनारायण नगर प्रमुख सोम मिश्र, प्रतिष्ठानका अध्यक्ष राजेन्द्रमान श्रेष्ठ, उपाध्यक्ष शशिजंग थापा, सचिव महेन्द्रगोपाल कर्माचार्य, सदस्य कल्पना लुइँटेललगायतले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको हितमा काम गर्न सुझाव दिएका थिए । रासस