
फाइल फोटो
वाग्मती सफाइ महाअभियानको २१२औं हप्तामा शनिबार विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति–राममन्दिरसम्म साइकलर्यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरियो ।
आजको वाग्मती सफाइबाट ९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिए ।
साइकलर्यालीको आयोजना जनसंख्या तथा वातावरण मन्त्रालयले गरेको थियो ।
मन्त्रालयले वाग्मती सफाइ महाअभियानलाई १०० जोर बूट, ५०० जोर पञ्जा र ५०० जोर मास्क पनि उपलब्ध गराएको थियो ।
सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, एक्सिस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन संघ, नेपाल एसजिआई, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।
सफाइमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डन, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, पूर्वसचिव किशोर थापा, डा. राजु अधिकारी, एलपी भानु शर्मा, अर्जुन धरेल, टंकराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायतको सहभागिता थियो ।
पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७३औं हप्ताको सफाइमा शनिबार गोकर्णेश्वर नगरपालिका–५ स्थित वाग्मतीवाटिका स्तम्भमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता थियो ।
सो अवसरमा नदी किनारमा बनाइएको बगैंचामा पनि सरसफाइ गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
यसैगरी, रुद्रमती सफाइको १७१औं हप्तामा काठमाडौं महानगरपालिका–९ मा जनचेतनामूलक घरदैलो अभियानसहित पशुपति–राममन्दिरसम्म र्यालीसहित सरसफाइ गरियो ।
आजको सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए । सफाइमा वडा नम्बर–३० बाट निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीसहित वडासदस्यको पनि सहभागिता थियो ।
विष्णुमती सफाइको १४३औं हप्तामा शनिबार तारकेश्वर नगरपालिका–१० स्थित तारकेश्वर गुम्बामा सफाइ गरी ६ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा एक सय ५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।
तिलगंगा महिला समूहले तिलगंगास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको एक सय २०औं हप्ताको सफाइ तिलगंगादेखि पशुपति–राममन्दिरसम्म र्यालीसहित सफाइ गरिएको अध्यक्ष आशा पाण्डेले जानकारी दिइन् ।
यसैगरी, चक्रपथ सफाइको आठौं हप्तामा शनिबार चक्रपथ सफाइ ग्रीनसिटी अस्पतालबाट पश्चिमतर्फ सामाखुसीस्थित तलेजु पेट्रोलपम्पसम्म सफाइ गरी २२ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा स्थानीयवासीलगायत ५५० अभियानकर्मीको सक्रियता थियो । सफाइमा श्वेताश्री फाउन्डेसन र भद्रगोल समूहको पनि सहभागिता थियो । रासस
प्रतिक्रिया दिनुहोस्