प्रदीप पौडेल
गुवाहाटी, माघ २६ । भारतीय पर्यटन व्यवसायीहरुले नेपालको हवाई र सडक सञ्जाललाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
भारतको आसामस्थित गुवाहाटीमा आयोजित कार्यक्रममा भारतका पर्यटन व्यवसायीहरुले नेपालको हवाइ र सडक सञ्जाल भरपर्दो र प्रभावकारी बनाउन सुझाव दिएका हुन् । पोखराको पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ यही माघ २४ गतेदेखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रमअन्तर्गत गुवाहाटी पुगेको नेपाली टोलीलाई भारतीय अधिकारीहरुले नेपालले पर्यटकका लागि पूर्वाधार विकास गरेर आफूहरु जति पनि पर्यटक पठाउन सक्ने बताए ।
टुर अपरेटर एसोसिएसन अफ आसामका सचिव कुलदिप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाइ एवं सडक यातायात सेवा सहज नभएको बताए । हवाइ सेवा र सडक यातायातलाई प्रभावकारी बनाउन सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य हुने उनको भनाइ थियो ।
गुवाहाटीका पर्यटन व्यवसायी सञ्जीव क्षेत्रीले सीमा नाकास्थित नेपालको चन्द्रगढी विमानस्थलबाट पोखरालाई सिधै हवाइ सम्पर्क गर्न सुझाव दिए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भारतीय पर्यटन हवाइ मार्गका साथै स्थल मार्ग हुँदै वर्षेनी ठूलो संख्यामा नेपाल आउने गरेको बताए ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालमा आउने कुल विदेशी पर्यटक मध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाइ मार्ग हुँदै आएका छन् । सन् २०१८ मा भारतबाट २ लाख ४ सय ३८ पर्यटक हवाइ मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन् ।
कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारीलगायतले भारतीय अधिकारीहरुको सुझाव कार्यान्वयनको पहल गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्