
औद्योगिक कलकारखानाबाट निस्कने धुवाँका कारण बढिरहेको जलवायु परिवर्तन यसरी नै बढ्दै जाने हो भने त्यसले भविष्यमा निकै समस्या बढाउने वातावरणविद्हरु बताउँछन् ।
वातावरण प्रदूषणले मानवीयसँगै पृथ्वी र अर्थतन्त्रमा नै निकै असर पुर्याइरहेको छ । मानवीय क्रियाकलाप, पेट्रोल, डिजेललगायतका इन्धनहरुबाट निस्कने कार्बनडाइअक्साइड ग्यासको मात्रा बढ्दै जाँदा पृथ्वीको तापक्रम पछिल्लो समय निकै बढ्दै गएको छ । जसका कारण जलवायु परिर्वतनको समस्या बढ्दै गएको वातावरणविद्हरु बताउँछन् ।
वातावरणविद् भूषण तुलाधर भन्छन्–‘पेट्रोल, डिजेलजस्ता इन्धनहरुको प्रयोग गर्दा कार्बनडाइअक्साइडजस्ता ग्यासहरु निस्किन्छन्, त्यसले पृथ्वीमा लेयर (ग्रीनहाउस ग्यास) बन्छ, जसले गर्दा सूर्यबाट आउने ताप पृथ्वीमा ठोक्किएर बाहिर जानुपर्ने हुन्थ्यो, जान सक्दैन र पृथ्वीको तापक्रम विस्तारै बढ्दै जान्छ, त्यसले गर्दा गर्मीमात्र हुने होइन, पृथ्वीका विभिन्न प्रणालीहरुलाई असर गर्छ ।’
घरबाट निस्कने फोहोरमैला होस् या इन्धनबाट निस्कने प्रदूषण सबैले हाम्रो पृथ्वीलाई निकै असर पुर्याउँदै लगेको छ ।
वातावरणमा कार्बनडाइअक्साइड ग्यास बढ्दा हिमताल फुट्ने, पानी पर्ने, मौसममा परिर्वतन हुने, बाढी–पहिरो आउने, सुक्खायाम बढ्नेजस्ता समस्या संसारभरि नै देखापर्दै गएको छ ।
जलवायु परिवर्तनको समस्या बढ्दै गएपछि हाल विश्वका सबै राष्ट्रहरु मिलेर तापक्रम स्थीर राख्ने सम्झैता (प्यारिस सम्झैता)मा ‘जलवायु परिवर्तकोविरुद्धमा लड्छौं’ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तर, ठूलो औद्योगिक राष्ट्र अमेरिका, जुन विश्वमा बढी प्रदूषण गर्ने राष्ट्रहरुमा दोस्रो स्थानमा रहेको राष्ट्रले जलवायु परिवर्तकोविरुद्धमा लाग्ने प्रतिबद्धता नजनाउँदा अब के हुन्छ ? भन्ने चिन्तन पनि बढेको छ ।
‘अमेरिकाले आफ्नो उत्सर्जन नघटाउने हो भने अरु सबैले गरेर पनि के फाइदा भो त भन्नेहरु पनि छन्, अथवा अमेरिकाले हाम्रोजस्तो देशहरुलाई पहिला सहयोग गर्ने वाचा गरेको थियो, त्यो अब गर्दिनँ भन्दा त्यसले हाम्रोजस्तो देशहरुलाई पनि असर पर्ला कि भन्ने शंका छ’–वातावरणविद् तुलाधारले भने ।
प्यारिस सम्झैताले सन् २०५० सम्ममा प्रदूषण गर्ने र घटाउने मात्रालाई बराबरीमा ल्याउने लक्ष्य लिएको छ ।
हाल एक प्रतिशतका दरले बढिरहेको तापक्रमलाई यो शताब्दीको अन्तसम्ममा १.५ डिग्री सेल्सियसभन्दा बढी हुन नदिने प्रतिबद्धता जनाइएको छ ।
प्यारिस सम्झैताले विकासउन्मुख राष्ट्रलाई तापक्रम स्थीर राख्न आर्थिक सहयोगसमेत गर्दछ ।
देश संघीयतामा गएसँगै सहरीकरण पनि बढ्दै गएको छ, जसका कारण वातावरण प्रदूषण झन् बढ्दै जाने खतरासमेत बढिरहेको छ ।
सरकारले अब सहरी व्यवस्थापनमा लगानी नगर्ने हो भने प्रदूषणको मात्रा बढ्दै गइ यसले भनिष्यमा निकै असर पुर्याउने खतरा बढेको वातावरणविद्हरु बताउँछन् ।
स्थानीयतहमा चुनिएर गएका प्रतिनिधिलाई यसबारे जानकारी गराउनुपर्ने वातावरणविद्हरु सुझाव दिन्छन् ।
प्रतिक्रिया दिनुहोस्