७ असार २०८२, शनिबार | Sat Jun 21 2025


छुट भएका दललाई नाम र दस्तखतको नमुना बुझाउन तीन दिन


0
Shares

आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन शुक्रबार उक्त समयसीमा तोकेको हो ।

उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्नसक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगको शुक्रबारको बैठकले यसअघि दस्तखत पेस गरेका राजनीतिक दलले दस्तखत नमुना परिवर्तन गर्न चाहेमा पनि तीन दिनभित्र परिवर्तन गर्न चाहेको दस्तखतको नमुना आयोगसमक्ष पेस गर्नसक्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

दस्तखत नमुना पेस गर्नका लागि दलको केन्द्रीय कार्यसमिति वा सोसरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने जनाइएको छ ।

दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता कायम रहेका ११३ राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि ८० दलले दल दर्ता गराएकामा ६३ दललेमात्र स्थानीय तह निर्वाचनका लागि आधिकारिक दस्तखत बुझाएका छन् । रासस