Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


दुई वर्षमा बनाइसक्ने गरी ठेक्का दिइएको पुल ७ वर्ष बित्दा बल्ल २५ प्रतिशत काम


0
Shares

कैलाली, माघ २३ । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा पुल निर्माण गर्ने सम्झौता भएको ७ वर्ष बित्यो । सम्झौता भएको दुई वर्षभित्रै पुल निर्माण गरी सक्नुपर्नेमा अहिलेसम्म जम्मा २५ प्रतिशतमात्र काम भएको छ ।

भजनी नगरपालिकाको ३ र ४ नम्बर वडालाई जोड्ने पुल नहुँदा स्थानीयले वर्षात्को बेलामा निकै कष्ट बेहोर्नुपरेको छ । पुल छिटो बनाउन पटकपटक हारगुहार गरे पनि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ ।

पुल भएमा ४५ किलोमिटरको यात्रामै सदरमुकाम धनगढी पुग्न सकिने भए पनि अहिले ८० किलोमिटरको दुरी हिँड्नुपरेको स्थानीयको गुनासो छ । निर्माण सम्झौता भएपछि कुनै पनि निकाय अनुगमनमा समेत नआएको गुनासो बढ्दै गएपछि अनुगमनका लागि पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आयोजनासँग सबै कुरा बुझेर आवश्यक कारबाही गरिने प्रतिबद्धता जनाए ।

अहिलेसम्म पुलको पिल्लर हाल्ने कामसमेत भएको छैन । निर्माणको जिम्मा लिएको लामा शेर्पा जेभी प्रालिले २०७० मंसिर मसान्तसम्ममा पुलको काम सम्पन्न गर्नुपर्ने हो तर पटकपटक म्याद थप्दै काममा आलटाल भइरहेको छ ।

हुलाकी सडक आयोजना अन्तर्गत ३ करोड ४५ लाख २० हजारको लागतमा निर्माणाधीन पुलमा चरम लापरवाही भएको स्पष्टै छ । हुलाकी सडक आयोजनाका प्रमुख रामपुकार जैशवालले एकहप्ताभित्र सम्पर्कमा नआए धरौटी जफत गरेर कारवाही गरिने चेतावनी दिए ।