Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बाहिरी चक्रपथ निर्माणको काम अहिलेसम्म कागजमै सीमित, केले अड्कियो ?


0
Shares

विक्रम संवत् २०५७ सालदेखि चर्चामा आएको बाहिरी चक्रपथको काम अहिले पनि सुरु नै भएको छैनभन्दा फरक पर्दैन ।

उपत्यकाका तीनओटै जिल्लाका काँठ हुँदै निर्माण गरिने चक्रपथको डीपीआर अहिले पनि बनिसकेको छैन ।

सुरुमा भित्री सहरी क्षेत्रका वासिन्दाको विरोधको मारमा परेको बाहिरी चक्रपथको कामले ०७२ सालको विनाशकारी भूकम्पपछिमात्रै अलिकति गति लिन थालेको हो । यद्यपि, अहिले पनि विभिन्न स्थानबाट डीपीआर तयार गर्नेभन्दा बढी काम हुन सकेको छैन ।

बाहिरी चक्रपथ निर्माणका लागि आवश्यक पर्ने हजारौं रोपनी जग्गाको अधिग्रहण सबैभन्दा जटिल काम बनेको सरकारी अधिकारीहरुको भनाइ छ ।

काठमाडौंको सतुंगल–चोभार क्षेत्रलगायतका स्थानमा सडकका लागि जग्गा प्राप्तीको काम अघि बढिरहेको र त्यसमा स्थानीय पनि सकारात्मक बनेको बताउँछन्, काठमाडौं विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी ।

‘प्लानिङको हिसाबमा सबै जनता सकारात्मक भए । हिजोको दिनमा प्लानिङ गर्नै हुन्न भन्नेहरु पनि अहिले प्लानिङ आवश्यक रहेछ, हुनुपर्ने रहेछ भन्ने कुरामा सबै पुग्नुभएको छ । अहिले अति न्यून विरोध छ ।’

तर, बाहिरी चक्रपथ निर्माणको चर्चालगत्तै नै जग्गा दलालहरुको चलखेलका कारण अधिकांश स्थानमा समस्या आएको पाइएको छ ।

त्यसमाथि राजनीतिक तहबाट बाहिरी चक्रपथ निर्माणमा पर्याप्त ध्यानसमेत नगुपेका कारण योजना बनेको दुई दशक पुग्न लाग्दासमेत कामले गति लिन नसकेकोमा दुई मत छैन ।

दुई वर्षअघिको भूकम्पपछि भने सरकार र स्थानीय दुबै पक्षमा बाहिरी चक्रपथको आवश्यकता टड्कारो बनेको तिवारीको भनाइ छ ।

७२ किलोमिटर लामो र ५० मिटर चौडा सडकसँगै दायाँ–बायाँ २५० मिटरको जग्गा विकासको योजनासमेत रहेको छ ।

तर, यति महत्वाकांक्षी योजनाका लागि पर्याप्त बजेटको व्यवस्था भने भएको पाइँदैन । जसका कारण यो आयोजना कहिले सम्पन्न होला भन्ने कुरा सरकारी अधिकारीहरुले पनि भन्नसक्ने अवस्था छैन ।