अनिल तिवारी
वीरगञ्ज, माघ २१ । बारा र रौतहटमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण सुरु गरिएको जमुनी सिंचाइ आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ ।
९ हजार ५ सय हेक्टर जमिनमा सिंचाइ पुर्याउने उद्देश्यले सुरु गरिएको आयोजनाको काम ९० प्रतिशत पूरा भइसकेको छ । ६ महिनाभित्र बाँकी काम सम्पन्न हुने बताइएको छ ।
बारा र रौतहटका किसानहरुको भविष्यसँग जोडिएको यस आयोजनामार्फत बाराको जमुनी खोलाको पानी गण्डक नहरमा झार्ने योजना छ । जसबाट बारा र रौतहटको कूल ९ हजार ५ सय हेक्टर बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध हुनेछ । त्यसमा पनि बाराको पूर्वी क्षेत्र र रौतहटको पश्चिमी भेगका किसानले यसबाट भरपुर लाभ उठाउने नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद साहको भनाइ छ ।
नेपाल सरकारको अनुदान तथा विश्व वैंकको ऋणमा बाराको आदर्श कोतवालमा निर्माणाधिन यस आयोजना कुमार एन्ड आशिष जेभिसँग २०७२ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७४ माघ १३ सम्ममा काम सम्पन्न गर्नुपर्ने भए पनि काम पुरा हुन सकेन र अहिले म्याद थपिएको छ ।
३१ करोडको लागतमा बन्ने आयोजनाको ९० प्रतिशत काम पुरा भएको र बाँकी काम अब ६ महिनाभित्र सम्पन्न हुने कार्यालय प्रमुख साहको विश्वास छ ।
नहर सञ्चानलमा आएपछि नहरमा प्रतिसेकेन्ड ७ हजार ५ सय लिटर पानी उपलब्ध हुनेछ । निर्माणाधिन ड्यामलाई जोगाउन जमुनी खोलाको धार नै परिवर्तन गर्नु पर्ने देखिएकाले कार्यालयले त्यसको डिपिआर बनाई जलस्रोत तथा सिंचाइ विभागमा पठाएको बताइएको छ । कृषिलाई प्रत्यक्ष प्रभावित पार्ने यस्ता आयोजना तोकिएको समयमै पुरा गर्न सके किसानहरु मर्कामा पर्नु पर्दैन थियो ।










प्रतिक्रिया दिनुहोस्