गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा१०प ४८४४ नम्बरको मोटरसाइकलचालक लमजुङ, सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दीप घाइते भए ।
सँगै आउँदै गरेको ना४ख ५४१९ नम्बरको ट्यांकरका सहयोगीचालक भारतको बेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भयो । चालक पर्सा, लक्ष्मनुवा–१८ का ३६ वर्षीय बनु पटेल घाइते बने ।
घटनामा रा१ख ७७९ नम्बरको मिनिट्रक, बा१६च ३९०७ नम्बरको कार र ना६ख ६६६४ नम्बरको ट्रक परेको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा मुग्लिन–नारायणगढको ३४ किलोमिटर सडकमा जोखिम पहिचान गरेर आवश्यक सावधानी अपनाउँन थालिएको उक्त सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल बताउँछन् ।
यो बीचमा दर्जनौंपटक पहिरो खस्यो । नियमितजसो ढुंगा झरिरहेको देखिने गरेकाले जोखिममा यात्रा गर्नु बाध्यता भएको चितवनको सौराहाका पर्यटन व्यवसायी प्रकाश भट्टराई बताउँछन् ।
यही असार ४ गते पनि उक्त सडकको कालीखोलामै पहिरो खसेर ८ घन्टा सवारी अवरुद्ध हुँदा गाडी खुलाउन दिनभर नै लाग्यो । यात्रीले पहिरो खस्ने त्रासमै दिन बिताए ।
त्यसको तेस्रो दिन असार ७ गते बिहान झरेको पहिरोले पनि यात्रीलाई दिनभर प्रभावित बनायो । उक्त पहिरो खस्दा पर्यटन व्यवसायी भट्टराई काठमाडौंबाट चितवन आउँदै थिए ।
‘मुग्लिन कटेपछि आङ सिरिङ हुन्छ’–भट्टराईले भने–‘यसरी जीवनकै बाजी राखेर यात्रा कहिलेसम्म गर्ने ?’
काठमाडौंबाट हिँडेका सूर्य अधिकारी पनि त्यही पहिरोका कारण दिनभर सडकमा बस्नुपर्यो । मुख्यगरी चारकिलो र कालीखोलाको पहिरोले यात्रीलाई प्रभावित पार्दै आएको छ । जीवनकै बाजी थापेर हिँड्नुपर्ने अवस्था मुग्लिन सडकमा भएको अधिकारी बताउँछन् ।
घुमाउनेपछिको ठूलो दुर्घटना शुक्रबार (आज)को हो । बिहीबार राति ८ बजेदेखि नै सडकगस्ती र सानातिनो पहिरो पन्छाएर मुग्लिनतर्फ फर्कंदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक राति १ बजे कालीखोलाको पहिरोले बगायो ।
दुई प्रहरीको ज्यान गयो भने अन्य दुई प्रहरी बेपत्ता भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्त पहिरोको जोखिमसँगै सडक विस्तारकोक्रममा रहेकाले ग्राभेल सडकका कारण पनि यात्रीबाहक बस नसोचेको दुर्घटनामा पर्दै आएको बताउँछन् ।
अघिल्लो वर्ष रौतहटको एउटा बस दुर्घटना हुँदा २३ जना यात्रीको घटनास्थलमै मृत्यु भएको र दुईओटा ट्रकसमेत नदीमा खसेर बेपत्ता भएको सोही क्षेत्र रहेको उनको भनाइ छ ।
वर्षा सुरु भएकाले जोखिम बढ्दो
वर्षा सुरु हुन लागेकाले यात्री डराइ–डराइ यात्रा गर्न बाध्य छन् । कालीखोला सबैभन्दा ठूलो जोखिम क्षेत्र भएपनि यहाँका दर्जनौं स्थान पहिरोको जोखिममा छन् ।
भित्तो काटिएकाले सुक्खा समयमा पनि पहिरो खस्छ । पानी परेपछि गलेर झन् जोखिम बढाउँछ ।
सडक आयोजनाका इन्जिनियर शिव खनाल अहिलेसम्म उक्त सडक करिब ५१ प्रतिशतमात्रै काम सम्पन्न भएको बताउँछन् । यसरी हेर्दा अन्तिम मिति पुसमा निर्माण सम्पन्न गर्न सकिँंदैन ।
यहाँको ३४ किलोमिटर सडकमा ६ ओटा निर्माण कम्पनीले तीन खन्ड बनाएर काम गरिरहेको छ । गएको वैशाखबाटै सक्नुपर्ने काम आधा पनि नहुँदा आगामी पुससम्मलाई म्याद थपिएपनि सो समयसम्म सकिने अवस्था देखिँदैन । त्यसैले यात्रीले अर्काे वर्ष पनि सास्ती पाउने देखिन्छ ।
नयाँ ठाउँमा खस्यो यसपटकको पहिरो
यसपटकको प्रहरी गाडी परेको पहिरो भने नयाँ ठाउँमा खसेको छ । यसअघि कहिल्यै नखसेको ठाउँ कालीखोला र चेपाङ डाँडाको बीचमा खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनाल बताउँछन् ।
बुधबार राति परेको भीषण वर्षाले गलाएकाले पहिरो खसेको उनी बताउँछन् । यो स्थिर बस्न नसक्ने माटो भएको क्षेत्र हो ।
गाडी र दुई प्रहरी गाडी हराएकाले माटोमा पुरिएको पनि हुनसक्ने आशंकामा सडकको पहिरोको माटोलाई गाडीमा लादेर अन्यत्रै फाल्नुपर्ने अवस्था छ ।
त्यसैले पहिरो पन्छाउन समय लाग्ने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त बताउँछन् । अर्काे चारकिलोमा पनि पहिरो खसेकाले अहिले पन्छाउनेक्रम जारी छ ।
यसरी भएको थियो घटना
बिहीबार राति करिब ९.४५ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङको नेतृत्वमा गएको टोलीले अवरुद्ध सडक एकतर्फी खुलाइ मुग्लिन फर्कंदै थियो ।
राति १ बजेर ५ मिनेटको समयमा कालीखोलानजिकै माथिबाट एक्कासि पहिरो खसेर इलाका प्रहरी कार्यालय मुग्लिङको ना१झ १३९० नम्बरको प्रहरीसहितको भ्यान र ना५ख ७८२७ नम्बरको ट्रक बगाएर सडकबाट तल झारेको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् ।
रातिदेखि नै खोजी गर्दा शुक्रबार बिहान धादिङ, खनियावास गाउँपालिका–४ बस्ने २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा, हरैया– ६ बस्ने वर्ष ३० का प्रहरीजवान दीपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थामा फेलापरेको छ ।
जिल्ला गोरखा, मकैसिंह–१ बस्ने वर्ष ३१ का प्रहरीजवान लीलबहादुर चेपाङ र तनहुँ, रुपाकोट–३ बस्ने वर्ष २१ को प्रहरीजवान सन्दीप कार्की बेपत्ता छन् ।
ना५ख ७८२७ नम्बरको ट्रकसमेत त्रिशूली नदीको किनारमा पूर्णरुपमा क्षति भएको अवस्थामा रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ बताउँछन् ।
उक्त ट्रकको चालक र सहयोगीचालकलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको र उद्धारकार्य जारी रहेको जनाइएको छ ।
तस्वीरः राजु चौधरी/इमेज ।











प्रतिक्रिया दिनुहोस्