जिल्ला प्रहरी कार्यालयकाअनुसार पहिरो पन्छाइएपछि शुक्रबार साँझ ६ः३० बजेदेखि सडक सन्चालनमा आएको हो ।
मुग्लिनबाट २ दशमलव ५ किमि नारायणगढतर्फ कालीखोलानजिकै बिहीबार राति १ बजेर ५ मिनेट जाँदा पहिरो खसेको थियो ।
पहिरोले इलाका प्रहरी कार्यालय मुग्लिनको गाडी त्रिशूलीमा खसाल्दा प्रहरी सहायक निरीक्षकसहित दुईजनाको मृत्यु भएको तथा दुईजना बेपत्ता भएका छन् ।
सोही पहिरोले एक ट्रकसमेत त्रिशूलीतर्फ खसाल्दा भीरमा अड्किएर बसेको छ । सो ट्रकका सहचालक घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार दुई हजार घनमिटरभन्दा बढी पहिरो खसेको थियो । पहिराले सडकको ४० मिटर क्षेत्र पुरेको थियो । दुई एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो ।
खनालकाअनुसार बिहीबार राति ९ः४० बजे कालीखोलाको मुखमा पहिरो खसेको थियो । पहिरो पन्छाउँदै गर्दा राति ११ बजे चारकिलो भन्ने ठाउँमा पहिरो खसेको थियो ।
शुक्रबार अपराह्न करिब १ बजे चारकिलोको पहिरो पूरै पन्छाएर दुईतर्फी सवारी आवागमन सन्चालनमा ल्याइएको थियो ।
राति ९ बजेपछि सडकका ठाउँठाउँमा समय–समयमा पहिरो खसेका कारण बिहीबारदेखिका सवारी–साधन लाममा लागेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तकाअनुसार सवारीचापका कारण नारायणगढतर्फ केन्द्रीय बस ट्रमिनल भरतपुर र मुग्लिनतर्फ कुरिनटारसम्म सवारीलाम लागेका छन् । एक दिनमा सो सडक हुँदै ११ हजार सवारी आवागमन गर्छन् ।
पन्तले १० हजारभन्दा बढी सवारी–साधन लाममा रहेको बताए । थप पहिरो नखसेमा सो सडक पार हुन ६ घन्टाभन्दा बढी लाग्ने अनुमान गरिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्