Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ, ठगसँग विभिन्न देशको परिचय पत्र भेटियो


0
Shares

आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक÷फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कहिले आफ्नो स्थायी घर नुवाकोट– २ देउराली र कहिले पोखराको लेखनाथ नगरपालिका– ३ बताउने र भारतको हरियानासमेत घर बताउँदै हिँड्ने तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला रु ३५ हजार पेस्की लिएर अन्य व्यक्तिसमेत खोजी दिन भन्दै ठगी गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले तामाङको गतिविधिमा शङ्का लाग्न थालेपछि प्रहरीमा निवेदन दिएर पक्राउ गराएपछि तामाङ ठग भएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

केहि दिनअघि तामाङलाई श्रेष्ठको निवेदनको आधारमा प्रहरीले पक्राउ गरेपछि तामाङको साथबाट अमेरिकाको वाशिङ्टन डिसीको कृतिम परिचयपत्र, विभिन्न देशको कृतिम आवासीय परिचयपत्र र तारा एयरलाइन्सको कर्मचारीको कृतिम परिचयपत्र समेत पाइएको प्रहरीले जनाएको छ ।

हाल तामाङलाई अनुसन्धानपछि ठगी सम्बन्धित कानुनी कारबाही सुरु गरिसकिएको प्रहरीले बताएको छ । रासस