
फाइल तस्वीर
समुदायका विभिन्न शुभकार्य न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नचाउने गरिन्छ ।
समुदायको बसोबास रहेका बनौँ, क्याङ, शालिजा, लेखफाँट, देउरालीलगायत गाविसका साथै म्याग्दीका विभिन्न गाउँमा यो नाच प्रचलित छ ।
राम, सरस्वतीको आराधना गरेर गीत गाउने तथा मारुनी नचाउने गरिन्छ ।
पुरुषलाई महिलाको भेषमा सजाएर पौराणिक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपोन्मुख अवस्थामा छ ।
मगर समुदायमा यो नाच परम्परागत समयदेखि नै नचाइदै आएको र पछिल्लो पुस्ताले यसलाई जीवितै राख्न समय समयमा नचाउने गरिएको छ ।
मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे र छदेखि १० जनासम्म गायक हुन्छन् ।
गायकमा एक गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ ।
मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिङ्गारपटार गरी महिलाको कपडा एवम् गहना लगाइदिइन्छ । मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन् । नाचको पूरा अवधिसम्म एउटै मारुनीले मात्र नाच्छन् ।
पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुरसिङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ ।
पुरसिङ्गे एकपछि अर्को गर्दै नाच्न सक्छ । मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ । मारुनी नाच नेपालको परम्परागत नाच हो ।
पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति पनि हो ।
पछिल्लो समयमा युवा पुस्ता यसको संरक्षणमा लागेका छन् । संरक्षणसँगै गाउँमा पुगेका अतिथिलाई मारुनी नाचबाटै स्वागत गर्ने चलनसमेत बढ्दै गएको छ ।
गुरुङ समुदायमा पनि व्याप्त मारुनी नाच संरक्षणका लागि आफूहरु लागिपरेको र विभिन्न स्थानबाट नयाँ पुस्तालाई तालिम दिनका लागि सहयोग सङ्कलन गर्ने कार्य सुरु गरिएको आर्थरका कमल गुरुङले बताए। रासस
प्रतिक्रिया दिनुहोस्