Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


क्यान ईन्फोटेक सम्पन्न, ३ लाखभन्दा बढी दर्शक सहभागी


0
Shares

काठमाडौं, माघल २० । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा मंगलबारदेखि काठमाडौंमा भएको सुबिसु क्यान ईन्फोटेक २०१९ उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

६ दिनसम्म चलेको मेला ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको महासंघले जनाएको छ । नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिले क्यान इन्फोटेकको दायरा थप फराकिलो बनाएको महसुस भएको क्यान महासंघका उपाध्यक्ष रोमकान्त पाण्डेले बताए ।

केही वर्षको अवधिमै प्रविधि र दक्ष प्राविधिक जनशक्तिको उत्पादनमा नेपाल निकै अगाडि पुगेको अनुभूत भएको पनि उनको भनाइ छ । मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए ।

कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका स्टल राखिएका थिए ।

२५औं संस्करणको क्यान इन्फोटेकमा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहन गएको बताइएको छ । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोगका बारेमा समेत अवलोकन गराइएको थियो ।

मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन पनि गराइएको थियो ।