
अहिले विराटनगर महानगरपालिकाको वडा नम्बर–२, ३ र ४ को मतगणना भइरहेको छ ।
शुक्रबार दिउँसो साढे ३ बजेसम्म विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीले ६५९ मत प्राप्त गरी अग्रता लिएका छन् ।
नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार विनोद ढकालले ४०० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका उम्मेदवार उमेश यादवले १९५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, निर्वाचन भएका सातओटा उपमहानगरपालिकामध्ये तीनओटामा कांग्रेस, तीनओटामा नेकपा एमाले र एकओटामा राप्रपाका उम्मेदवार अगाडि देखिएका छन् ।
सुनसरीको इटहरी र धरान उपमहानगरपालिकाको प्रमुखमा पनि कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । यी दुबै उपमहानगरपालिकामा पनि कांग्रेसका उम्मेदवारलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा भने एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
बिहीबार साँझसम्म बुटवलमा कांग्रेसका उम्मेदवार अगाडि रहेकोमा शुक्रबार बिहानबाट भने एमालेका उम्मेदवारले अग्रता लिएका हुन् ।
दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाको प्रमुखमा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् । दुबै उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवार दोस्रो स्थानमा छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्