सानी नानीसहितको दिदी र उनी सडक अवरुद्ध भएपछि अलपत्र परिन् । घरी सिटमा त घरी सडकमा गरेर उनीहरुले समय बिताइरहेका छन् ।
बच्चाको पीडा उस्तै थियो । ‘निद्रा नै भएन, बिरामी परिएलाजस्तो भो’–ज्योतिले भनिन्–‘न फर्कौं, न जाँऊँ भने भनेजस्तो भा’छ ।’ अरु यात्रीको पनि हरिबिजोग भएको उनको भनाइ छ ।
पैसाले धान्न नसक्ने अवस्था भएको छ । अझ दुई, तीन घन्टामा बाटो नखुले पुनः पोखरा फर्कने उनले बताइन् ।
कालिखोलाको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडक थुनिएको झन्डै ३० घन्टा हुन लाग्यो ।
जति जाम लम्बिँदै छ, उति यात्रीहरु प्रभावित हुँदैछन् । पर्याप्त पैसा नभएकाको राति गाडीमै बास पर्यो । भोकभोकै सुत्ने अवस्था आयो । कोही भने चाउचाउ चिउराको भरमा बसे ।
सडक अवरुद्ध भएपछि महिला र बालबालिका बढी प्रभावित भएका छन् । चितवनकी पत्रकार इन्दिरा दाहाल पनि सोही पहिरोमा रोकिइन् । उनी एउटा संस्थाले दिएको अलैंचीको बिरुवा चितवनको विकट काउलेमा वितरण गरेर फर्कदा जाममा परेकी हुन् ।
‘शुक्रबार बिहान ८ बजे पहिरो खस्यो, अनि फसियो’–उनले भनिन्–‘राति यात्रीको अवस्था दर्दनाक थियो ।’
दाहालकाअनुसार बढी महिला र बालबालिका प्रभावित थिए । पैसा हुनेहरु मुग्लिनका होटलमा बस्न आए । नहुनेहरु चाउचाउ चिउराको भरमा गाडीमै रात बिताए । कतिपय सडकमै अलपत्र देखिन्थे । रातभर बालबालिकाहरु चिच्चयाइरहेका थिए । यात्रीका अनुहारमा पीडा छचल्किएको थियो ।
मुग्लिनका सबै होटल भरिएपछि कतिपय यात्री त्यसै सडकमा फर्किए । जामका कारण कतिपय जहाँबाट आएका उतै फर्किए भने पैसा हुनेहरु नौबिसे हुँदै हेटौंडातर्फ लागे ।
पश्चिम जानेहरु पोखरा हुँदै बुटबलतर्फ लागे । नहुनेहरु जतिबेला बाटो खुल्छ, उतिबेलै जाने भन्दै कुरिरहेका छन् । अझ बीच बाटोमा अड्किएका यात्री नजिक पसल नहुँदा किनेर खाने अवस्था पनि नभएको प्रत्यक्षदर्शी बताउँछन् ।
तीनओटा बिहेका लागि हिँडेका गाडीमध्ये एउटा बिहे स्थगितै गरेर फर्किए । एउटा बिहेको दुलाहा र केही जन्ती हिँडेर माथिबाट पहिरो काट्ने भन्दै गएको पत्रकार दाहालले बताइन् ।
अर्काे बिहेका जन्ती भने वैकल्पिक बाटो खोज्दै फर्किए । अर्का पत्रकार राजु चौधरी पनि सोही जाममा अड्किएका छन् ।
काठमाडौंबाट चितवन आउँदा मुग्लिननजिकै कालिखोलामा पहिरो गएकाले शुक्रबारदेखि नै उनी पनि रोकिएका हुन् । पहिरो भन्दामाथिबाट छिचोलेर जाने प्रयास पनि उनको असफल भयो ।
दैनिक १० हजार गाडी गुड्ने उक्त सडकमा अहिले हजारौं यात्री अलपत्र छन् ।
‘कतिपयले पहिरोमाथि डाँडाबाट बाटो काटे, कतिले पहिरोबाटै ज्यान जोखिममा राखेर बाटो काटे’–पत्रकार चौधरीले भने–‘पहिरोमा एकजनाको ज्यान गएपछि अहिले प्रहरीले हिँड्न दिएको छैन ।’
शुक्रबार बिहान सवा ८ बजे खसेको पहिरो एकपछि अर्काे थपिएकाले बाटो खुलाउन सकिएको छैन । सक्ने गाडी जति फर्किएका छन् भने बीचमा अड्किएका सवारीको अहिलेपनि ठूलो जाम छ । १०/१२ किलोमिटरसम्म दुईतर्फ नै गाडीको जाम रहेको प्रहरीले जनाएको छ ।
चितवनबाट जाने गाडीलाई जामपछि भरतपुर आसपासमै रोकेको प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् । कालिखोलामा २०० मिटर माथिबाट खसेको पहिरो करिब ५० मिटर लम्बाइको छ ।
चितवनका ट्रफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्त राति जोखिम भएकाले बिहान ५ बजेबाट पुनः पहिरो पन्छाउन थालिएको बताउँछन् ।
अझै सडक खुल्न केही घन्टा लाग्ने उनले बताए । अहिलेको पहिरो यो वर्षकै ठूलो रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्