
सहोदर दाजुभाईको चुनावी भिडन्तमा सन्तुलन मिलाउन आमाले मत नहाल्नेदेखि, एक भोटले जित्दा ‘ठूलो युद्ध’ जितेको जस्तो रोमाञ्चक घटना चुनावी परिदृश्यमा देखिए ।
राजनीतिक लाभ लिनका लागि जुनसुकै हत्कन्ठा अपनाउने नेताहरुको चरित्र देखिए पनि स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा केही यस्ता दृष्य पनि देखिए जुन हेर्दा र सुन्दा रोचक लाग्थ्यो ।
हिन्दू धर्मको नारा उछालेर राजनीति गरिरहेको राप्रपाकै पार्टीबाट मुस्लिम उम्मेदवारले चुनाव जिते । मतदाताले जात, धर्म, पहिचान जस्ता राजनीतिक लाभहानीका लागि प्रयोग गरिएको अस्त्रलाई निरस्त्र गरिदिए ।
हिन्दुराज्यको माग सहितको घोषणापत्र लिएर चुनावी मैदानमा उत्रिएको राप्रपाबाट मुस्लिम समुदायका अन्जरा आलमलाई झापाको कचनकवलका जनताले गाउँपालिकाको अध्यक्षमा विजयी गराए । जबकी आलमको विजयीमा हिन्दू राज्यको अस्त्रको कुनै तालमेल देखिदैन ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा न. ३ मा अध्यक्षमा सहोदर दाजुभाई युवराज वराल र राम बराल चुनावी भिडन्तमा उत्रिए ।
दुई जना मध्ये कुनै एकलाई भोट हाल्दा असमान व्यवहार हुने ठानेर उनीहरुकी आमाले भोट नै हालिनन् । चुनावी भिडन्तमा भाई युवराज वरालले दाईलाई पराजित गर्दै काँग्रेसको झण्डा गाडे ।
ताप्लेजुङकै फक्तालुङ गाउँपालिकामा काँग्रेसका छेतन वालुङ १ भोटले विजयी हुँदा युद्ध जितेको भन्दा कम्ति रोमाञ्चक भएनन् त्यही चुनाव हार्ने एमालेका नामरासि वालुङले १ भोटले पराजित हुँदा निकै पीडा ब्यहोरिरहेका थिए ।
मधेस विरोधी भनेर प्रचार गरिएको एमालेले मधेशी बाहुल्य रहेको कपिलवस्तुको १० वटा स्थानीय तहका विभिन्न स्थानमा वर्चश्व कायम गर्यो ।
मधेसविरोधी पार्टीको रुपमा मधेशवादी दलले एमालेलाई चित्रित गरेपनि मधेशी वाहुल्य विजयीनगर गाउँपालिकामा एमालेको प्यानल नै जितेको हो ।
रोल्पाको तीनवटा गाउँपालिकामा माओवादीका पूर्व लडाकुले वाजी मारेका छन् । रोल्पाको सुवर्णवती गाउँपालिकामा पूर्व लडाकु गुनेन्द्र घर्ती, थवाङबाट वीरवहादुर घर्ती र सुकिदहबाट वीरवहादुर खत्री विजयी भएका छन् ।
सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्नेहरुको विश्वास केन्द्रदेखि स्थानीय तहसम्मै देखियो । सुनसरीको दुहवी नगरपालिकामा फोरम लोकतान्त्रिकका वेदनारायण गच्छदारले वाजी मारे ।
दोस्रो चरणको निर्वाचनमा दुई फोरम संघीय समाजवादी र लोकतान्त्रिक फोरमको प्रतिस्पर्धा र केही स्थानमा विजयले उनीहरुको राजनीतिक बिरासतलाई पनि जोगाइदिएको छ ।
उता, गुल्मी काँग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले निर्वाचनमा पराजित भएपछि उच्च लोकतान्त्रिक सस्कार देखाउँदै पदबाट राजिनामा दिए भने पार्टीभित्र बढेको चरम अनुशासनहीनता र अराजक शैलीको आलोचना सँगै गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्