
यही असार १४ गते तीनओटा प्रदेशअन्तर्गत् ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)काअनुसार प्रदेश नम्बर–१ का ११९, प्रदेश नम्बर–५ का १०४ र प्रदेश नम्बर–७ का ८४ स्थानीय तहको मतपरिणाम घोषणा भइसकेको छ ।
योसँगै २७ जिल्लाका सबै स्थानीय तहको मतगणनाकार्य पूरा भएको छ भने २७ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।
बुधबार दिउँसो ३ः३० बजेसम्मको मतगणनाअनुसार, नेकपा एमाले १३५, नेपाली कांग्रेस ११६, नेकपा माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम ६, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र उम्मेदवार २ स्थानमा स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
उपप्रमुख एवं उपाध्यक्षमा एमाले १५७, कांग्रेस ९९, माओवादी केन्द्र ३७, संघीय समाजवादी फोरम नेपाल ५, नेपाल लोकतान्त्रिक फोरम ५, राष्ट्रिय जनमोर्चा २, राप्रपा २ स्थानमा विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
हाल ८ जिल्लाका २४ स्थानीय तहमा मतगणना भइरहेको छ भने तीन स्थानीय तहमा मतगणना स्थगित भएको छ ।
मतगणना स्थगित भएका स्थानीय तहमा सुनसरीको धरान, झापाको अर्जुनधारा र कन्चनपुरको पुनर्वास नगरपालिका हुन् ।
दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्