
-दीपक घिमिरे/ईमेज
२०५४ साल यता कुनै पनि निर्वाचनमा बिजयी हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ ।
एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झण्डा गाड्न सफल भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा विजयी हासिल गरेको छ ।
सिद्धार्थनगरको मेयरमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६ हजार ७०५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृकाप्रसाद यादवले ५ हजार २५० मत प्राप्त गरे । त्यस्तै उपमेयरमा पनि एमालेकी उमा काफ्ले निर्वाचित भएकी छन् ।
उनले ६ हजार १७२ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ मत प्राप्त गरिन् ।
यसैगरी राप्रपाको मेयरका उम्मेदवार सागरप्रताप राणाले ४ हजार ६३७ र उपमेयर उम्मेदवार रमिता थापामगर केसीले ३ हजार ५१७ मत प्राप्त गरे ।
माओवादीका फैज अहमद खाँले ३ हजार ४०७ र उपमेयरमा कमला थापाले ३ हजार १२९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मेयर र उपमेयर सहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ ।
त्यस्तै कांग्रेस वडा नम्बर १, ६, ७, ८, १०, १२ मा विजयी भएको छ भने वडा नम्बर ४ संघीय समाजवादी फोरम नेपालले जितेको छ ।
वडा नम्बर एकको वडाअध्यक्षमा कांग्रेसका रमेश मल्ल, २ मा एमालेका दिपक कुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा संघिय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ मा एमालेका चेत बहादुर क्षेत्री, ६ मा कांग्रेसका विनोद श्रीवास्तव, ७ मा कांग्रेसकै भिमसेन कर्माचार्य विजयी भएका छन् ।
त्यस्तै वडा नम्बर ८ को वडाअध्यक्षमा कांग्रेसका राजनजंग राणा, ९ मा एमालेका शेषकान्त भण्डारी, १० मा कांग्रेसका विजयनाथ धोवी, ११ मा एमालेका दिलिप यादव, १२ मा कांग्रेसका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिस प्रसाद मर्सानी विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्