१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी


0
Shares

जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा एमालेका प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३२२ मत प्राप्त गरेर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गीता रेग्मीले ११ हजार २७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताए ।

यस्तै, जिल्लाको बेलका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् । बेलकाको प्रमुखमा एमालेका दुर्गाकुमार थापा पाँच हजार ८१८ मत प्राप्त गरेर विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै राजकुमारी चौधरीले ६ हजार १३१ मत प्राप्त गरेर विजय भएको निर्वाचन अधिकृत हरि पोखरेलले बताए ।

प्रमुख पदमा थापाका प्रतिद्वन्द्वी नेकाका अशोक कार्की पाँच हजार २६६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा नेकाका दीपा राईले पाँच हजार २८६ मत प्राप्त गरिन् ।

उदयपुर जिल्लाको आठ स्थानीय तहमा चार नगरपालिका र चार गाउँपालिकामध्ये नेकपा एमालेले जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका गरेर ६ स्थानीय तहको प्रमुख पदमा विजय हासिल गरेको छ ।

यस्तै, नेकाले जिल्लाको चौदण्डी नगरपालिकामा मात्र विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले जिल्लाको सुनकोसी गाउँपालिकामा विजय हासिल गरेको छ ।

उदयपुरको आठवटा नै स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना कार्यसमेत सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ । (रासस)