Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सरकारको स्पस्ट नीति अभावमा समस्या झेल्नुपर्‍यो : सिमेन्ट उद्योगी


0
Shares

काठमाडौं, माघ १७ । सिमेन्ट उद्योगीहरुले सरकारको स्पस्ट नीतिको अभावमा सिमेन्ट उद्योगीहरुले पटक–पटक समस्या झेलिरहनुपरेको गुनासो गरेका छन् ।

बिहीबार काठमाडौंमा सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘नेपालमा सिमेन्टको अवसर, चुनौती र भविष्य विषयक’ अन्तरक्रिया कार्यक्रममा उनीहरुले उक्त गुनासो गरेका हुन् ।

सरकारको असहज नीतिले समस्या भोगीरहनुपरेको र सरकारले उद्योगमैत्री वातावरण निर्माण गर्न नसकेको उनीहरुको भनाइ छ ।

सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमले पनि उद्योगलाई सहज नबनाएको, सरकारले वैदेशिक लगानीलाई पनि व्यवस्थापन नगरेको एवं सिमेन्ट उद्योग खोल्नका लागि व्यवसायीहरुले पटक–पटक प्रक्रियागत समस्या भोगीरहनुपरेको उद्योगीहरुले बताएका छन् ।

उद्योगीहरुले नयाँ उद्योग खोल्नका लागि वन तथा वातावरण मन्त्रालयसँग पटक–पटक अनुमति ‘माग्नु फलामको च्यूरा चपाएसरह’ भएको दुखेसो पोखेका थिए ।

उद्योगका लगि आवश्यक पर्ने कोइला विभिन्न तेस्रो मुलुकबाट आयात गनुपर्ने समस्या रहेकाले त्यसतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

संघका अध्यक्ष ध्रुवराज थापाले कार्यपत्र प्रस्तुत् गर्दै सरकारले दोहोरो मापदन्ड राखेको र सरकारले बढाएको करले उद्योगीहरुलाई थप मारमा पार्ने काम भइरहेको बताए ।

पछिल्लो समय नेपाल सिमेन्टका क्षेत्रमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ ।

यस्ता उद्योगलाई सरकारले निर्यातमुखी बनाउन सहयोग गर्नुपर्नेमा थापाले जोड दिए ।

नेपालको सिमेन्ट उद्योगमा २०० अर्ब रुपैयाँ बढीको लगानी रहेको र वार्षिक १५० अर्ब बराबरको बजार रहेको जनाइएको छ ।