
‘जुन कोषमा क्यान्सर देखिएको छ, त्यो कोषलाई सेकेर (रेडिएसनमार्फत) मार्नका लागि पछिल्लोपटक सो प्रविधि विकसित भएको हो । यो प्रविधिलाई वीर अस्पतालले पनि भित्र्याउँदै छ’– अस्पतालका निर्देशक प्रा.डा.भूपेन्द्र बस्नेतले भने ।
हाल सो सेवा निजीस्तरका केही अस्पतालमा मात्र उपलब्ध छ । यो सेवा लिन रु दुई लाखसम्म बिरामीले खर्चिनुपर्छ । ‘टोमोथेरापी सेवा हामी रु पाँच हजारदेखि रु दश हजारसम्ममा दिने तयारीमा छौँ, यसमा अति विपन्न, असहाय, गरिब बिरामीलाई भने निःशुल्क सेवा प्रदान गर्दैछौँ’– निर्देशक प्रा.डा.बस्नेतले भने ।
स्वास्थ्य मन्त्रालयले यही आर्थिक वर्षमा उपकरण खरिदगरी सेवा सञ्चालनमा ल्याउन अस्पताललाई रु ४० करोड विनियोजन गरेको थियो । अस्पताल र अमेरिकाको एक्युरे कम्पनीबीच सो उपकरण खरिदका लागि सम्झौतासमेत भइसकेको छ । अस्पतालले उपकरण खरिद गर्न एलसी खोल्ने तयारीमा जुटेको छ ।
क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग हुँदै आएका ‘कोवाल्ट’ र ‘लिन ज्याक’ उपकरणभन्दा ‘टोमोथेरापी’ सेवा अत्याधुनिक र नयाँ प्रविधि मानिन्छ । विगतमा वीर अस्पतालले ती दुवै प्रविधिद्वारा सेवा दिँदै आएकामा विगत केही वर्षदेखि दुवै उपकरण बिग्रिएर थन्किएका छन् ।
हाल नयाँ र अन्यन्त्रबाट सिफारिस भई आएका गरी दैनिक ५०÷६० जना क्यान्सरका बिरामी अस्पतालमा आउने गर्छन् । उपकरणका अभावमा त्यस्ता बिरामीको उपचारका लागि अस्पतालले अन्य अस्पतालमा सिफारिस गर्ने गर्छन् ।
नयाँ उपकरण जडान भइसकेपछि अस्पतालले दुई सिफ्टमा सेवा दिने तयारी गरेको छ । निर्देशक प्रा.डा.बस्नेतले भने – ‘क्यान्सर उपचारका लागि अस्पतालमा आएजति सबै बिरामीलाई सेवा दिन तयार छौँ ।’
गरिब, विपन्न, असहाय क्यान्सर रोगीका बिरामीलाई सस्तो, सुलभ तथा अति विपन्नलाई निःशुल्कसमेत सेवा दिन र वीर अस्पतालले क्यान्सर उपचारमा अन्तर्राष्ट्रिय सेवा दिन सक्षम छ भन्ने सन्देश सेवाको सुरुवातसँगै जाने अस्पतालले विश्वास गरेको छ ।
अस्पतालअन्तर्गत विभागलाई आवश्यक पर्ने सबै उपकरण पूरा गर्ने भएको छ । हाल अस्पतालमा १४ विभाग रहेका छन् । ‘विभागका मागअनुसार आवश्यक उपकरणको खरिद प्रक्रिया अगाडि बढिसकेको छ, कुनै उपकरण जडान भए, कुनै आउँदै छन्’ निर्देशक प्रा.डा.बस्नेतले भने । नयाँ ‘ग्यास्टोइन्डोस्कोपी’ उपकरण खरिदको प्रक्रियासमेत शुरु गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्